
उर्लाबारी, ९ असोज
नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति खड्ग फागोले आसन्न नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । आज नेपाली काँग्रेस १४ औं महाधिवेशन समन्वय समिति उर्लाबारीले आयोजनामा नवनिर्वाचित वडा समिति र क्षेत्रीय प्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रमका प्रमुख अतिथि रहेका फागोले पुनः एक पटक क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
“अन्तिम पटक क्षेत्रीय सभापतिको उम्मेद्वार बनेको छु’ उनले भने, “सोही पदमा अर्को पटक उठ्दिन ।’ क्षेत्रीय सभापतिको उम्मेद्वारी घोषणा गरिरहँदा आफूलाई सम्पूर्ण क्षेत्रीय प्रतिनिधि तथा काँग्रेसजनको साथ सहयोग रहने बताउँदै उनले सबैको मनोभावना बुझेर काम गर्ने बताए । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको दसैंपछि हुने भनिएपनि मिति तय भएको छैन ।



