
रतुवामाई, ८ असोज
सुजित जैसवाल, पूर्वी मोरङका उम्दा युवा । राजनीति होस् या सामाजिक कार्य, अन्य युवाभन्दा उनी एक कदम अघि छन् । विशेषगरी रतुवामाई र उर्लाबारीमा हुने सामाजिक कार्य र राजनीतिक गतिविधिमा उनको सक्रियता निकै छ ।
मोरङको रतुवामाई–९ इटहराका सुजित नेविसंघ जिल्ला सदस्य, नेविसंघ उर्लाबारी बहुमुखी क्याम्पस इकाई कमिटी सभापति भएर काम गरिसकेका छन् । विभिन्न युवा क्लब, सामाजिक संघसंस्था, युवा रेडक्रस सर्कललगायत संघसंस्थामा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
नरम बोली, मिलनसार स्वभाव, आकर्षक व्यक्तित्व सुजित आफू आवद्ध पार्टी नेपाली काँग्रेस मात्र होइन, अन्य पार्टीका युवाको समेत प्रेरणाको स्रोत बनेका छन् । सामाजिक कार्यमा पार्टी राजनीतिभन्दा माथि उठेर युवा जोश जाँगरका साथ कार्य गर्ने उनको स्वभावले सबैलाई आकर्षित गर्ने गरेको छ । पार्टी गतिविधि र संगठन विस्तारमा त उनी दिलोज्यान दिएर लाग्ने गरेका छन् ।
बालक, युवादेखि बृद्धबृद्धासम्मको मनमा बस्न सफल सुजितले नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रतुवामाई नगर सचिवमा उम्मेद्वारी दिने बताएका छन् । पार्टी तथा भातृ संगठनमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै सबै क्रियाशील सदस्य तथा काँग्रेसजनले आफूलाई नगर सचिवमा योग्य ठान्नेमा विश्वस्त रहेको उनले बताए ।
समस्या परेको बेला जुनसुकै अवस्थामा पनि समाधान गर्न लागिपर्ने उनी सबैका प्रिय मानिन्छन् । अर्कोतर्फ काँग्रेसमा तल्लो तहदेखि नै युवा नेतृत्वको कुरा चलिरहेको बेला अग्रजको सम्मान गर्दै युवालाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाई छ । जन्मजात चारतारे झण्डामुनि गोलबद्ध सुजित रतुवामाईमा पार्टीलाई अझ बलियो र दर्बिलो बनाउन आफ्नो उम्मेद्वारी रहेको बताउँछन् । पार्टी र समाजमा गरेको योगदानको कदर गर्दै आफूलाई पार्टीका क्रियाशील सदस्यले नगर सचिवको जिम्मेवारी प्रदान गरी कार्य गर्ने अवसर प्रदान गर्नेमा आफू ढुक्क रहेको उनले बताए ।