
उर्लाबारी, ५ असोज
मोरङको उर्लाबारीमा रहेर नेपाली साहित्य तथा समालोचनाको क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आउनुभएकी मिश्र वैजयन्ती प्रदेश १ को नेपाली बालसाहित्यको इतिहास लेखनमा लाग्नुभएको छ । नेपाली बालसाहित्यको समग्र इतिहास लेखन कार्यको थालनी गरेसँगै नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रदेश १ को बालसाहित्यको इतिहास लेखनको जिम्मेवारी उहाँलाई प्रदान गरेको हो ।
सात प्रदेशमा भएका बालसाहित्य लेखन, प्रकाशन र बालगतिविधिहरूको समग्र चित्र आउने गरी अलग अलग सात जनाले तथा भारतीय र बर्मेली नेपाली बालसाहित्यको एक जनाले र अमेरिकी तथा युरोपेली देशहरूमा रहेका नेपाली स्रष्टाहरूबाट लिखित बालसाहित्यको इतिहास एक जनाले लेख्ने गरी नौ जना विज्ञहरूको समूह यस कार्यमा लागेको प्रतिष्ठानले जनाएको छ ।
जसमा प्रदेश १ को मिश्र वैजयन्ती, प्रदेश २ को नवराज रिजाल, बाग्मती प्रदेशको कृष्ण सुवेदी, गण्डकीको गंगा कर्माचार्य पौडेल, लुम्बिनीको डा. शालिकराम पौडेल, कर्णालीको जागेश्वर उपाध्याय र सुदुरपश्चिम प्रदेशको बालसाहित्यको इतिहास रामचन्द्र नेपालले लेख्दै हुनुहुन्छ । यस्तै, भारतको असमकी डा. दैवकीदेवी तिम्सिनाले भारतीय र बर्मेली नेपाली बालसाहित्यको र हाल अमेरिकामा रहेका कवि तथा समालोचक लालगोपाल सुवेदीले डायस्पोरा (युरोप, अमेरिका आदि) को नेपाली बालसाहित्यको इतिहास लेख्दै हुनुहुन्छ ।
आगामी मङ्सिर महिनासम्ममा सबै क्षेत्रको लेखनकार्य सकिने र ती नौओटै सामग्रीलाई एकै ठाउँमा संयोजन गरी यही आर्थिक वर्षमा ‘नेपाली बालसाहित्यको इतिहास’ नामक कृति प्रकाशन गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ ।



