
उर्लाबारी, २ असोज
उर्लाबारी उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु यतिबेला बधाई थाप्न व्यस्त छन् । हिजो अबेर नतिजा सार्वजनिक भएपछि आज दिनभर बधाई थाप्न उर्लाबारी, मंगलबारे, दुर्गापुरी लगायतका स्थानमा तामझामका साथ पुगे ।
निर्वाचितले बधाई थापिरहँदा कार्यसमिति सदस्यमा पराजित एक जना उम्मेद्वार भने निर्वाचनका बेला छरिएका पर्चा र बोतलले कुरुप बनेको संघ बाहिरको सडक सफाइमा लागेका छन् । प्रगतिशील साझा प्यानलबाट उम्मेद्वार रहेका अनिल साहु तेली सदस्य पदमा पराजित भए । उनै साहु आफ्ना साथीहरुसँग मिलेर संघ बाहिर छरपष्ट पर्चा र बोतल टिपेर सडक सफा गरे । आफू पराजित भएपनि आफ्नो गाउँ टोलको फोहोर आफैंले सफा गर्नुपर्छ भनेर लागेको उनले बताए ।
‘यो हार र जितको विषय भएन, गाउँ, ठाउँ फोहोर हुनु भएन भनेर लागेको हुँ’ उनले भने, ‘हिजो मैले पनि यहाँ फोहोर गरे हुँला, यो सफा गर्ने मेरो पनि कर्तव्य हो ।’ आफ्नो गाउँ सफा गर्न हारजितले असर नपार्ने उनको भनाई छ ।