About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ असोज
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको उर्लाबारी–५ स्थित अरनिको अस्पतालले एकपछि अर्को सुविधा थप गर्दै आएको छ । आठ वर्षअघि स्थापना भएको उक्त अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा असोज १ गतेदेखि इको कार्डियोग्राफी सेवा सुरु गरेको छ ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको मुटुको जाँच गरी सेवा सुरुवात गरिएको हो । अस्पतालका एमवीवीएस, एमडी डा. सम्पन्न बुढाथोकीले फागोको मुटुको जाँच गर्नुभयो । डा. बुढाथोकीले हिजैबाट अरनिको अस्पतालमा सेवा सुरु गर्नुभएको हो । यसअघि उहाँ नोबेल अस्पताल विराटनगरमा कार्यरत हुनुहुन्थ्यो । इको कार्डियोग्राफीबाट मुटुको रोग पत्ता लगाउन सहयोग पुग्ने बताउँदै डा. बुढाथोकीले यो प्रविधिबाट मुटुको भल्भको अवस्था पत्ता लाग्ने, रगत पम्पको परीक्षण गरिने, मुटु वरिपरि पानी जमेको छ छैन भने जाँच गरिने जानकारी दिनुभयो ।
सो अवसरमा नगर प्रमुख फागोले स्थानीय स्तरमा सञ्चालित अस्पतालमा सेवा सुविधा थपिनु खुसीको कुरा भएको बताउनुभयो । मुटुको जाँच गर्न यसअघि विराटनगर, धरान पुग्नु पर्ने बाध्यताको अन्त्य भएको भन्दै उहाँले पूर्वोत्तर मोरङ र यस आसपासका बिरामीका लागि यो सेवाले सहजता भएको बताउनुभयो ।
अस्पतालका अध्यक्ष लोलिम पोमू लिम्बूले समयानुकूल अस्पतालका सेवा विस्तार गर्दै लगिएको बताउनुभयो । डेढ वर्षदेखि स्वास्थ्य बिमा ल्याएर सहुलियत उपचार गरिरहेको बताउँदै उहाँले केही दिनभित्रमै इन्डोस्कोपी सेवा पनि सुरु गरिने बताउनुभयो । यस्तै, छ महिनासम्ममा आइसीयु र एनआइसीयु सेवा सुरु गरिने अध्यक्ष लिम्बूले बताए । इको कार्डियोग्राफी सेवा मोरङमा विराटनगर बाहिर पहिलो पटक अरनिको अस्पतालमा सुरु गरिएको उहाँले बताउनुभयो ।


यस क्षेत्रका बिरामीहरुको सुविधालाई मध्यनजर गर्दै सेवाहरु थप गर्न आफूहरु तयार रहेको अस्पताल सञ्चालक समिति सदस्य आइन्वा पोमूले बताउनुभयो । अस्पतालमा स्वास्थ्य बिमा सुरु गरिएपछि बिरामीहरुको चाप बढेको बताउँदै अस्पताल सञ्चालक समिति सचिव रन्जित पोमूले बढीभन्दा बढी सेवा र सुविधा प्रदान गर्ने अस्पतालको लक्ष्य रहेको सुनाउनुभयो ।
अरनिको अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आएको छ । अस्पतालको सेवा क्षेत्रभित्रका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर, गरिब विपन्न बिरामीलाई उपचार छुटलगायतका कार्य गर्दै आएको सञ्चालक सदस्य बालकृष्ण लाबुङले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय