
उर्लाबारी, ३० भदौ
उर्लाबारी उद्योग वाणिज्य संघको ३३ औं वार्षिक चुनावी साधारणसभा आज भव्यताका साथ सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा संघकै सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
साधारणसभामा प्रमुख अतिथि ढकालसहित विशिष्ट अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो, नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । संघको भोलि हुने निर्वाचनमा सक्षम उम्मेद्वारलाई मतदान गरी विजयी गराउन उनीहरुले आह्वान समेत गरे ।
सो अवसरमा संघका अध्यक्ष प्रितम खड्गीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोभिड १९ महामारीको समयमा पनि संघले उल्लेखनीय कार्य गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा पाँच जना उत्कृष्ट व्यापारी, व्यवसायीलाई सम्मानसमेत गरिएको थियो । यस्तै, पत्रकार सरोज बस्नेतलाई पाँच हजार एक सय राशीको उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरियो ।
नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट व्यक्तित्वहरु, जिल्ला नगर अध्यक्षहरुलगायतको उल्लेख्य सहभागितामा साधारणसभा सम्पन्न गरिएको कार्यक्रम संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेले बताए । कार्यक्रमको सञ्चालन महासचिव रामबहादुर थापाले गरेका थिए ।
संघको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान ८ बजेदेखि मतदान हुँदैछ । मतदानका लागि सम्पूर्ण तयारी पूरा गरेको प्रमुख निर्वाचन अधिकृत महेन्द्रजंग तामाङले बताए ।



