About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २६ भदौ
आगामी भदौ ३१ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा १६ पदका लागि ३३ जना उम्मेद्वार चुनावी मैदानमा छन् । हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको कुरा गरिएपनि उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा भने महिला उम्मेद्वार तीन जना अर्थात् ९ प्रतिशत मात्र छन् ।
यी तीन जना महिला उम्मेद्वार मध्ये एक हुनुहुन्छ, लेखा समिति सदस्य पदकी उम्मेदवार राधिका काफ्ले । ८ वर्षदेखि उर्लाबारी–७ पशुपति मार्गमा व्यापार व्यवसाय गर्दै आउनुभएकी उहाँ रोजिना ट्रेडर्सकी सञ्चालक हुनुहुन्छ । उर्लाबारी उद्योग वाणिज्य संघमा आवद्ध उहाँ २०७० सालदेखि उर्लाबारीमा व्यापार व्यवसायमा संलग्न हुनुहुन्छ ।
विभिन्न सामाजिक संघसंस्थामा रही कार्यानुभव सम्हाल्नुभएकी उहाँ संघमा पहिलो पटक लेखा समिति सदस्य पदमा उम्मेद्वार बन्नुभएको छ । ‘संघमा गएर केही गरौं भन्ने उद्देश्यले उम्मेद्वार बनेकी हुँ, मेरो उम्मेद्वारी सबै व्यापारी, व्यवसायीको सरसल्लाहबाट आएको हो’ उहाँले बताउनुभयो ‘संघमा रहेको आर्थिक हिसाबकिताबलाई अझ पारदर्शी र चुस्त दुरुस्त राख्नका लागि म प्रतिबद्ध भएर लाग्ने छु ।’ लेखा प्रणालीमा केही कमीकमजोरी भए सुधार गरी प्रविधिमैत्री बनाउने र प्रविधिकै माध्यमबाट हिसाब सार्वजनिक गर्न आफ्नो भूमिका रहने उहाँको भनाई छ ।
‘वार्षिक रुपमा उठ्ने रकम कसरी सदुपयोग गर्ने, त्यसको हिसाब राख्ने छु’ उहाँले भन्नुभयो, ‘महिला व्यापारीको हकहित अधिकारलाई सुनिश्चित गर्दै आवाज बुलन्द गर्ने मेरो योजना छ ।’ यसरी नै पिछडिएका महिला व्यापारीलाई संघमा आवद्ध गराउँदै आवश्यक तालिम प्रशिक्षणको व्यवस्था गराउने काफ्लेको अठोट रहेको छ । आधा आकाश भनिएका महिलाको नेतृत्व बाणिज्य संघमा नभएकोले महिला व्यवसायीलाई कर छुट, हक अधिकार, तालिम प्रशिक्षण प्रदान गरी सबल तथा सक्षम बनाउन आफ्नो उम्मेद्वारी रहेको उहाँको भनाई छ । यसका लागि भदौ ३१ गते हुने निर्वाचनमा आफूलाई मतदान गरी विजयी गराउन उहाँले सबै व्यापारीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय