About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २४ भदौ
उर्लाबारी उद्योग वाणिज्य संघमा यतिबेला चुनावी रन्को छ । संघको ३३ औं चुनावी साधारणसभा भदौ ३० र ३१ गते हुँदै छ । ३१ गते हुने निर्वाचनले आगामी तीन वर्षका लागि १६ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्ने छ । भदौ ३० गते साधारणसभा र ३१ गते मतदान कार्यक्रम रहेको संघका अध्यक्ष प्रितम खड्गीले जानकारी दिए । साधारणसभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गर्ने अध्यक्ष खड्गीले बताए ।
भदौको गर्मीमा अहिले उर्लाबारीका उद्योगी व्यवसायीलाई चुनावी रन्कोले छोएको छ । यो रन्कोको नतिजा कुर्न अब ७ दिन पर्खनुपर्नेछ । अहिले उम्मेद्वारहरु चुनावी प्रचारप्रसारमा लागेका छन् । चुनावमा नेतृत्वका लागि दुई प्यानल होमिएका छन् भने कार्य समिति सदस्यमा एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
संघको आगामी दिनमा बागडोर हाँक्न अध्यक्ष पदमा तारामान सिरेङ लिम्बू र अर्कोतर्फ शेरबहादुर भण्डारीको प्यानल अहिले मतदाता फकाउँदैछन् । चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै उनीहरु दुवैले आ–आफूले जित्ने दाबी गरेका छन् । लिम्बू संघको कार्यसमिति सदस्य, महासचिव हुँदै बरिष्ठ उपाध्यक्ष भइसकेका हुन् भने भण्डारी हालका बाणिज्य उपाध्यक्ष छन् । रोचक के छ भने शिक्षण पेशाबाट व्यापार व्यवसायमा होमिएका भण्डारीले अर्का अध्यक्ष पदका उम्मेदवार तारामान सिरेङलाई पढाएका हुन् ।
नेपाली काँग्रेस, राजपा र लिम्बुवान पार्टी निकट व्यवसायीहरुको लोकतान्त्रिक गठबन्धनको नेतृत्व तारामानले गरेका छन् भने नेकपा एमाले, नेकपा (एस), नेकपा माओवादी केन्द्र र राप्रपा निकट व्यवसायीहरुको प्रगतिशील साझा प्यालनको नेतृत्व शेरबहादुरले गरेका छन् ।
संघको बरिष्ठ उपाध्यक्षमा दिलबहादुर श्रेष्ठ (दिलु) र यमलाल रसाइली, उद्योग उपाध्यक्षमा रामप्रसाद धिमाल र जंगबहादुर कार्की, वाणिज्य उपाध्यक्षमा निरु चौहान र पवन चौधरी, महासचिवमा हेमराज गुरुङ र सम्झना खतिवडा आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै, उद्योग सचिवमा पूर्ण सिंगक र डिल्ली खतिवडा, बाणिज्य सचिवमा भेषबन्दु निरौला र यज्ञबहादुर बस्नेत तथा कोषाध्यक्षमा कृष्णराज गिरी र राजनप्रसाद दाहाल उम्मेद्वार रहेका छन् ।
कार्यसमिति सदस्यमा लोकतान्त्रिक गठबन्धनबाट भीम घिमिरे, दशरथ यादव (बेचन), नवीन श्रेष्ठ, योवाहाङ तुम्बाहाम्फे र राजकुमार श्रेष्ठ चुनावी मैदानमा छन् । यस्तै, प्रगतिशील साझा प्यालनबाट नुतन राई, नित्तम चौहान, निलप्रसाद गौतम, नरेन्द्र थापा र अनिल साहु उम्मेद्वार छन् । उर्लाबारीका व्यवसायी गोपाल भण्डारीले कार्यसमिति सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस्तै, लेखा समिति संयोजकमा गणेश खत्री र गजिन्द्र भण्डारी उम्मेदवार छन् । लेखा सदस्यमा लोकतान्त्रिकबाट रोषन घिमिरे र विकास राई तथा प्रगतिशील साझाबाट राधिका काफ्ले र फुर्वा तामाङ निर्वाचनमा होमिएका छन् ।
दुवै प्यालन अहिले चुनावी अभियानमा होमिएका छन् । अध्यक्ष पदमा कुन उम्मेदवार विजयी हुन्छन् भन्ने अहिल्यै भन्न सकिने अवस्था छैन । अन्य पदमा पनि कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय