
उर्लाबारी, २३ भदौ
दिलबहादुर श्रेष्ठ (दिलु), नाम जस्तै दिलदार व्यक्तित्व । जुझारु युवा दिलु जागरुक, उत्साही, असल, कुशल उद्यमी व्यवसायी हुन् । किशोरवयदेखि नै व्यापार व्यवसायमा लागेका उनले आम व्यापारीका दुःख बुझेका छन् । २०५० सालमा उर्लाबारीमा धाँनकाँटाको व्यापारबाट सुरु भएको उनको व्यवसाय किराना पसल हुँदै अहिले उर्लाबारी–५ मा सगुन सुनचाँदी पसल र सगुन सप्लायर्स सञ्चालनमा छन् ।
व्यापारीको मनमा बस्न सफल भएकै कारण ९ वर्ष अघि भएको उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा कार्यसमिति सदस्य पदमा अत्यधिक मत ल्याएर विजयी भए । संघको कार्यसमिति सदस्यमा रहेर खेलेको भूमिकाका कारण अर्को निर्वाचनमा उद्योग सचिवमा विजय हात पार्न उनलाई कुनै कठिन परेन । संघको विभिन्न पदमा रहँदा उनले निर्वाह गरेको भूमिका आम उर्लाबारीका व्यापारीले बुझेकै छन् ।
तिनै हसिलो मुहार, आकर्षक चेहरा, मिठो बोली भएका युवा दिलबहादुर आगामी भदौ ३१ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार बनेर चुनावी मैदानमा होमिएका छन् । लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेका दिलु अहिले व्यापारी, व्यवसायी माझ आफ्ना एजेन्डा लिएर मत माग्न व्यस्त छन् । पहिलेको अनुभवलाई समेटेर व्यापारी व्यवसायीकै हितमा काम गर्ने जोश जाँगरका साथ यस पटक आफू बरिष्ठ उपाध्यक्षको उम्मेद्वार बनेको उनी बताउँछन् ।
यस क्षेत्रका व्यापारीले भोग्नु परेका सबै खाले समस्यासँग आफू जानकार भएको बताउँदै उनले भने, ‘सबै व्यापारीको हकहित सुरक्षामा ध्यान दिन्छु, सबै प्रकारका व्यापारीलाई निश्चित मापदण्ड बनाई सदस्यता बिस्तार गर्दै संघमा आवद्ध गराउन भुमिका खेल्छु ।’
यस्तै, करसम्बन्धी झन्झट झमेलालाई अन्त्य गर्न समन्वयकारी भूमिका खेल्ने, व्यापारी र कर्मचारीलाई तालिम, प्रशिक्षण प्रदान गर्ने, नापतौल, पान, भ्याट जस्ता कुरामा व्यापारीले भोग्नु परेका समस्या समाधान गर्ने, उर्लाबारीलाई सुन्दर, हराभरा, सफा बनाउन नगरपालिकासँग सम्बन्ध नजिक बनाई सहयोग र सहकार्यका साथ अघि बढ्ने लगायतका महत्वपूर्ण प्रतिबद्धता उनले अघि सारेका छन् ।
अथाह सम्भावना बोकेको उर्लाबारीको जीवनस्तर उकास्न सबैभन्दा पहिला यहाँको व्यावसायिक स्तर उकासिनुपर्ने, यहाँका पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन हुनुपर्ने, कृषि उपजको उत्पादन आधुनिक र यान्त्रीकरण विधिबाट हुनुपर्ने, उत्पादनको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण हुनुपर्ने र ती कामका लागि अगुवाइ गर्ने, पहल कदमी लिने जिम्मेवारी उर्लाबारी उद्योग वाणिज्य संघ र त्यसको नेतृत्वले आफूहरुले गर्न सक्ने श्रेष्ठको भनाई छ । ती लक्ष्य र उद्देश्य पूरा गर्न उद्यम व्यवसायमैत्री वातावरण हुनुपर्ने र त्यसका लागि पनि झक्झक्याउने र व्यवसायमैत्री वातावरण निर्माण गर्न आफूहरुको यथेष्ट पहल रहने उनले बताए ।



