
उर्लाबारी, १८ भदौ
उर्लाबारी उद्योग वाणिज्य संघको ३३ वर्षे इतिहासमै पहिलो पटक महासचिव पदमा महिलाको उम्मेद्वारी परेको छ । संघको आसन्न निर्वाचनका लागि महासचिव पदमा उर्लाबारी–५ की सम्झना खतिवडा आचार्यले उम्मेदवारी दर्ता गराएकी हुन् ।
संघको तीन वर्ष अघि भएको निर्वाचनमा अत्यधिक मतका साथ खतिवडा उद्योग सचिवमा निर्वाचित भएकी थिइन् । यस पटक महासचिवमा उम्मेद्वारी दर्ता गरेसँगै आफूले संघको कार्यसमितिमा बटुलेको अनुभवलाई प्रयोग गर्दै आगामी दिनहरुमा सिर्जनशीलता र उद्यमशीलता, आर्थिक समृद्धि, सामाजिक रुपान्तरणमा योगदान गर्ने लक्ष्य राखेको बताइन् । व्यवसायीहरुको समस्यालाई बुझेर उनीहरुको हक हितका लागि काम गर्ने, बेरोजगारलाई स्वरोजगार तथा व्यवसायी बनाउने, विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर संघलाई मजबुत बनाउन पहल गर्ने प्रतिवद्धतासहित महासचिव पदमा उम्मेद्वारी दिएको खतिवडाले बताइन् ।
उर्लाबारी उद्योग वाणिज्य संघमा पहिलो महिला महासचिवको उम्मेद्वार बन्नु उनका लागि अवसर र चुनौती हो । यो अवसरलाई सदुपयोग गरी चुनौती सामना गर्न आफू तयार रहेको उनले बताइन् । पुरुष सरह महिला पनि सक्षम छन् भनेर देखाउने अवसर आफूमाथि आएको उनको भनाई छ । प्रगतिशील साझा प्यालनबाट महासचिव पदको उम्मेद्वार बनिरहँदा खतिवडाले प्यालनका साझा एजेण्डाका साथै संघमा पुगेपछि गर्ने विभिन्न कार्यबारे उल्लेख गरेकी छिन् । ‘संघको ३३ वर्षे इतिहासमा पहिलो महिला महासचिवको उम्मेद्वार बनेकी छु’ उनले भनिन्, ‘उद्योगी व्यापारीको शिर ठाडो पार्ने काम गर्नेछु ।’ सबै व्यापारीका समस्या आफ्नै ठानेर काम गर्ने, व्यापारीलाई अधिकतम सेवा सुविधा दिने, संघमा वार्षिक कार्ययोजना बनाएर कार्य गर्ने, योजना कागजमा मात्र होइन व्यवहारमा उतार्ने, व्यापारी र संघबीच सूचना आदानप्रदानलाई सहज बनाउने, संघको कार्यालय सञ्चालनलाई कम्प्युटराइज्ड सिष्टममा लैजाने, सूचना प्रवाहलाई व्यवस्थित गर्ने उनका योजना छन् ।
महिलाले सञ्चालन गरेको व्यवसायमा लाग्ने कर र संघले लिने शुल्कमा ५० प्रतिशत छुट गर्न पहल गर्ने, महिला उद्यमशीलताको विकासका लागि स्थानीयदेखि केन्द्र सरकार, उद्योग वाणिज्य महासंघसँग समन्वय गर्ने उनका एजेण्डा छन् । निम्न वर्गका सडक पेटीमा व्यापार गर्ने महिलाहरुको ५० हजारदेखि १ लाखसम्मको दुर्घटना बिमा निःशुल्क गरिदिने उनको योजना छ । पहिलो पटक २५ जना महिलाको दुर्घटना बिमा गरिदिने र क्रमशः बृद्धि गर्दै जाने खतिवडाले बताइन् ।
दुई दशकदेखि व्यापार व्यवसायमा संलग्न खतिवडाको अहिले उर्लाबारी–५ मा सिद्धिबिनायक कस्मेटिक तथा साडी पसल सञ्चालनमा छ । व्यापारसँगै सामाजिक सेवामा सक्रिय उनी सन् २०१८।०१९ मा लायन्स क्लबको जोन चेयर पर्सन, २०१७।०१८ मा लायन्स क्लब अफ आस्था उर्लाबारीको अध्यक्ष, न्युरोड बाटो निर्माण समितिकी कोषाध्यक्ष भएर सफलतापूर्वक कार्य गरिसकेकी उनी अहिले युनियन लाइफ इन्स्योरेन्सको एजेन्सी मेनेजर र उर्लाबारी उद्योग वाणिज्य संघको उद्योग सचिव छिन् । धेरै संघसंस्थामा बसेर पद ओगट्नुभन्दा एक दुई संस्थामा रहेर उदाहरणीय कार्य गर्न रुचाउने सम्झना खतिवडाले उर्लाबारी उद्योग वाणिज्य संघको पहिलो महिला महासचिव भएर संघ तथा व्यापारी व्यवसायीको हक, हित र विकासमा लागिपर्ने अठोट लिएकी छिन् ।



