
उर्लाबारी, १८ भदौ
मोरङको उर्लाबारीमा बसोबास गर्दै आएका अति सीमान्तकृत सन्थाल जातिको आर्थिक तथा क्षमता विकासका लागि उनीहरूको इच्छा अनुसार आवश्यक विभिन्न सीपमूलक तालिमको विवरण संकलन कार्य सकिएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उर्लाबारी नगरपालिका वडा नम्बर ९ मा निर्माण गर्न लागिएको एकीकृत नमूना सन्थाल बस्तीमा बहुआयामिक नमूना ग्रामको अवधारणा अनुसार आवास निर्माणसँगै उनीहरूलाई जीविकोपार्जनका लागि विभिन्न रोजगारमूलक सीप, तालिम, प्रविधि र बीउ पूँजी साथै स्थानीय स्तरमा भएका कच्चा पदार्थहरुमा आधारित उद्योग सञ्चालन गर्न चाँडै डीपीआर कार्य अघि बढाइने उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले बताइन् ।
स्थानीय राते होलीमा निर्माण गर्न लागिएको एकीकृत नमूना सन्थाल बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, रोजगारी, सरसफाइ, पार्क, ज्येष्ठ नागरिक भवन, स्वास्थ्य चौकी, मनोरञ्जन स्थल, हिंसामुक्त नमूना गाउँ जस्ता सामाजिक सूचकसहित लैङ्गिक समानता उन्मुख नमूना गाउँ बनाउने अवधारणा रहेको उपप्रमुख भण्डारीले बताइन् । सो बस्तीमा आवास निर्माण कार्य अघि बढेसँगै उनीहरूको चौतर्फी विकासका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्बन्धित र अन्य मन्त्रालयसँग आवश्यक सहयोग लिंदै जाने उपप्रमुख भण्डारीको भनाई छ । यो विषय सामाजिक क्षेत्र भएकाले आर्थिक जस्तो तुरुन्तै प्रतिफल नदेखिने भएकाले समय लाग्ने उनले बताइन् ।
उर्लाबारी नगरपालिका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक विकास शाखा प्रमुख चन्द्रकला सुब्बाले विभिन्न उमेर समूहका युवा, महिला, पुरूषहरूसँग छलफल गरी उनीहरूको इच्छा अनुसारको रोजगारीका लागि आवश्यक विभिन्न सीपमूलक तालिमका लागि उर्लाबारी वडा नम्बर ४ सिसौली, वडा नम्बर ८ र ९ को संयुक्त वडा कार्यालय, वडा नम्बर ८ को कदम टोली र वडा नम्बर ९ को आसामे टोलका सन्थाल बस्ती पुगेर माग संकलन गरिसकेको बताइन् । उनीहरू केरा खेती, बेमौसमी सब्जी खेती, बाख्रा पालन, बंगुर पालन, माछा पालन, पशुपालन, सन्थालहरूको जातीय पोषाक सिलाउने तान बुन्ने तालिम, सिलाइ कटाई तालिम, ब्युटीपार्लर, ड्राइभिङ तालिम, मोबाइल मर्मत तालिमतर्फ आकर्षण रहेको प्रमुख सुब्बाले बताइन् ।
उनीहरूको जीवनस्तर वृद्धिका लागि आवश्यकता अनुसारको तालिम, प्रविधि र बीउ पूँजी साथै स्थानीय स्तरमा उपलब्ध भएका कच्चा पदार्थहरुमा आधारित उद्योग सञ्चालन समेत सञ्चालन गरिने सुब्बाले जानकारी दिइन् । योसँगै बचत समूह, बालक्लब, किशोरी समूह, युवा समूह, महिला समूह, कृषि समूह चाँडै गठन गरिने उनले जानकारी दिएकी छन् ।
उर्लाबारी नगरपालिका वडा नम्बर ४, ८ र ९ का विभिन्न क्षेत्रमा २१६ घरपरिवार सन्थाल समुदाय बसोबास गरिरहेको सन्थाल समुदायका अगुवा बुद्धिलाल सोरेनले बताए । मेहनती र लगनशील भनेर चिनिने सन्थाल जाति खोला, पैनीको डिल र अरूको जमिनमा बसेर खेतीपाती गर्दै जीविकोपार्जन गर्दै आइरहेका छन् ।