
उर्लाबारी, १८ भदौ
उर्लाबारी उद्योग वाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ता आज हुँदै छ । निर्वाचन समितिले आज बिहान ११ देखि ४ बजेसम्म मनोनयनको समय तोकेको प्रमुख निर्वाचन अधिकृत महेन्द्रजंग तामाङले जानकारी दिए ।
मनोनयन दर्ता सम्पन्न भएपछि उम्मेद्वार माथि दाबी विरोध आजै साँझ ६ बजेसम्म, उम्मेद्वारी फिर्ता भोलि १२ देखि २ बजेसम्म, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भोलि ३ बजे गरिने कार्यतालिका रहेको छ । भदौ ३१ गते विहान ८ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
संघको निर्वाचनबाट अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, महासचिव, उद्योग सचिव, बाणिज्य सचिव, कोषाध्यक्ष, पाँच सदस्य, लेखा संयोजक र दुई जना लेखा सदस्य गरी १६ पदका लागि निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत तामाङले बताए ।
संघको निर्वाचनका लागि शेरबहादुर भण्डारी नेतृत्वको प्रगतिशील साझा प्यानल र तारामान सिरेङ लिम्बु नेतृत्वको लोकतान्त्रिक प्यानलका साथै केही स्वतन्त्र उम्मेद्वारले मनोनयन गर्ने छन् ।



