About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ भदौ
आगामी भदौ ३१ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट बाणिज्य उपाध्यक्ष पदको उम्मेद्वारका रुपमा उभिएकी छिन्, निर्मला चौहान (निरू) । उर्लाबारीमा २५ वर्षदेखि उद्योग, व्यवसाय सञ्चालन गर्दै आएकी चौहान सफल उद्यमीका रुपमा परिचित छन् । उनको निरु ढाका कपडा उद्योग उर्लाबारीमा मात्र होइन, पूर्वमै चिनिएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको गत निर्वाचनमा सदस्य पदमा विजयी भएकी निरूको व्यवसाय लोभलाग्दो छ । चौहानले उद्योग, व्यापार मात्र सञ्चालन गरेकी छैनन्, महिलाहरुलाई ढाका बुनाई तालिम दिएर आत्मनिर्भर समेत बनाएकी छिन् । २०५४ सालमा २५० रुपैयाँ खर्च गरेर सिकेको सीपले उनलाई सफल उद्यमी बनाएको छ नै, लगानी बढेर अहिले ८० लाख बढी पुगेको छ । उनले सञ्चालनमा ल्याएको ट्रेनिङ सेन्टरबाट हालसम्म तीन सय बढीलाई ढाका बुनाई तालिम दिएर स्वरोजगार बनाएकी छिन् । १ सय जनालाई त उनले निःशुल्क तालिम दिएकी छिन् ।
ढाकाका ८० रुपैयाँको रुमालदेखि ११ हजार पर्ने साडीसम्म निरु ढाका उद्योगबाट उत्पादन हुने गरेका छन् । यहाँ तालिम लिएका महिलाहरुले उत्पादन गरेका ढाकाका सामान चौहानले नै खरिद गरिदिन्छिन् । ढाका बुनाईमा निरू ढाका कपडा उद्योग उर्लाबारीको ब्राण्ड नै बनेको छ ।
आफ्नो पेसासँगै सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रियता बढाएकी निरुले सफल उद्यमी व्यवसायी मात्रै नभएर अहिलेसम्म जति संघसंस्थामा रहेर काम गरेकी छिन्, सफल नै बनेकी छिन् । हाल उनी नारी सृजना कृषि सहकारी संस्था उर्लाबारीको कोषाध्यक्ष, उद्योग वाणिज्य महासंघ प्रदेश १ महिला समितिको सदस्य, उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचित सदस्य, घरेलु तथा साना उद्योग महासंघ उर्लाबारी नगर समितिको उपाध्यक्ष, पतञ्जली योग उर्लाबारी नगर समितिको सदस्यको भूमिकामा छिन् । तीन वर्ष अघि भएको उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्य पदमा लोकप्रिय मत (७६२) ल्याएर आफूलाई अब्बल विजेताको सूचीमा दर्ज गराउन सफल भएकी हुन् निरू ।


सबैसँग सरल, नम्र र सम्मानपूर्ण व्यवहार गर्ने स्वभाव भएकी निरूले आफूलाई उद्योग वाणिज्य संघको निर्वाचनमा बाणिज्य उपाध्यक्ष पदका लागि व्यवसायीहरुले योग्य ठानेर मतदान गर्नेमा ढुक्क रहेको बताइन् । उनले तारामान सिरेङ लिम्बू नेतृत्वको लोकतान्त्रिक प्यानलले ल्याएको संयुक्त प्रतिबद्धता पत्र साझा प्रतिबद्धता भएको बताउँदै उर्लाबारीमा सफल र सक्षम संस्थाको रुपमा वाणिज्य संघलाई उभ्याउँदै महिला उद्यमी व्यवसायीहरूको व्यवसाय, सीप र क्षमताको विकासका लागि आफूले विशेष कार्यक्रमहरु समेत ल्याउन पहल गर्ने प्रतिबद्धता जनाइन् ।
उर्लाबारी उद्योग वाणिज्य संघको ३३ वर्षे इतिहासमा उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने दोस्रो उम्मेद्वार हुन् निरू । यसअघिको निर्वाचनमा बाणिज्य उपाध्यक्ष पदमै महिला (संगीता अधिकारी) ले प्रतिस्पर्धा गरेपनि सफलता हात परेन । यस पटक उद्योगी, व्यवसायीले आफूलाई विजयी गराएर संघको इतिहासमै पहिलो पटक उपल्लो पदमा महिलाको स्थान पक्का गरिदिनेमा ढुक्क छिन् उनी । संघमा सचिवभन्दा माथिल्लो पदमा अहिलेसम्म महिलाले जित हासिल गरेका छ्रैनन् । यो रेकर्ड ब्रेक गर्ने जिम्मेवारी निर्मला चौहानको काँधमा छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय