
उर्लाबारी, १६ भदौ
आसन्न उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले उम्मेद्वारी घोषणा गरेको छ । बुधबार श्रीसगरमाथा सहकारीको सभाहलमा आयोजित घोषणा कार्यक्रममा अध्यक्षमा तारामान सिरेङ लिम्बू नेतृत्वको प्यानल घोषणा गरिएको हो ।
नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, संघीय लिम्बुवानसहितको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा दिलबहादुर श्रेष्ठ (दिलु), उद्योग उपाध्यक्षमा बाङ्गाई धिमाल, बाणिज्य उपाध्यक्षमा निर्मला चौहान (निरु), महासचिवमा हेमराज गुरुङ, उद्योग सचिवमा पूर्ण सिंगक लिम्बू, बाणिज्य सचिवमा भेषबन्दु निरौला र कोषाध्यक्षमा कृष्णराज गिरी उम्मेद्वार बनेका छन् । यस्तै, कार्यसमिति सदस्यमा नवीन श्रेष्ठ, भीम घिमिरे, बेचन यादव, योबाहाङ तुम्बाहाम्फे र राजकुमार श्रेष्ठ तथा लेखा समिति संयोजकमा गणेश खत्री, सदस्यहरुमा रोशन घिमिरे र विकास राईलाई उम्मेद्वार बनाइएको छ ।
उम्मेद्वारी घोषणा कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख तथा नेपाली काँग्रेस मोरङ १ का क्षेत्रीय सभापति खड्ग फागोले नेपाली काँग्रेस नेतृत्वको प्यानलबाट व्यापारीको हकहितका लागि अहोरात्र खट्ने उम्मेद्वार चयन गरेको बताए । विश्वासले गठबन्धन गरेको हुँदा सबै उम्मेद्वारलाई जिताउन लागि पर्न गठबन्धनका सबै दल र व्यापारी व्यवसायीलाई अनुरोध गर्दै उनले विश्वास तोड्नु नहुने बताए । नगर प्रमुख फागोले पूरा गर्न सक्ने मात्र एजेण्डा लिएर व्यापारी माझ जान आग्रह गरे ।
कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, नेपाली काँग्रेस उर्लाबारीका सभापति वीरबल थापा, जसपा नगर अध्यक्ष मात्रिका धिमाल, संघका पूर्व अध्यक्ष केशव कार्कीले शुभकामना मन्तव्य राखेका थिए । उम्मेद्वारी घोषणा तयारी समितिका संयोजक तेजकुमार रिजालको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षका उम्मेद्वार तारामान सिरेङ लिम्बूले प्रतिबद्धता मन्तव्य राखेका थिए । कार्यक्रममा लिम्बुवानकी अन्जु लिङ्देनको स्वागत मन्तव्य र जसपाका दिपक न्यौपानेको सञ्चालन रहेको थियो ।