
मधुमल्ला, १४ भदौ
नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमि आयोग खारेज गरेर सरकारले जनघाती काम गरेको आरोप लगाएकी छिन् । आयोगले भूमिहीन, सुकुम्बासीहरुको लगत संकलन सकेर धनीपूर्जा वितरणको चरणमा पु¥याएको बेला आयोग खारेज गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले सरकार परिवर्तन हुँदा राम्रा कामले निरन्तरता नपाउने प्रचलन रहेको बताइन् ।
आज मोरङको मिक्लाजुङ–६ मा अवस्थित बेतिनी सिमसारको संरक्षण तथा पर्यटन पूर्वाधार क्षेत्र निर्माण कार्यक्रमको शिलान्यास गर्दै डा. तुम्बाहाङ्फेले सरकार परिवर्तन पिच्छे राम्रा कामले निरन्तरता नपाउँदा जनताको कर बापतको करोडौं रकम खेर गइरहेको बताइन् । विकास निर्माण र प्रारम्भ भएका योजनालाई बजेट संशोधनको नाममा कटौती गर्न नहुने उनको भनाई थियो ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सरला राईले राखेकी थिइन् । पर्यटन मन्त्रालयको पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत करिब ५ करोड लागतमा विभिन्न पूर्वाधार निर्माणका कार्य गरिने मिक्लाजुङ–६ का वडा अध्यक्ष बुद्धिलाल निरौलाले जानकारी दिए ।



