About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३ चैत
उर्लाबारी नगर क्षेत्रबाट दैनिक १२ टन फोहोर निस्कने गरेको एक अध्ययनले देखाएको छ । आज उर्लाबारी नगरपालिकामा आयोजित फोहोरमैला व्यवस्थापन सम्बन्धी अध्ययनको प्रारम्भिक प्रतिवेदन छलफलमा नगरबाट दैनिक १२.७४ टन फोहोर निस्कने गरेको बताइयो ।
उर्लाबारीका घर, होटल, पसलबाट निस्कने फोहोरबारे गरिएको अध्ययनबाट ६३ प्रतिशत कुहिने फोहोर र ३७ प्रतिशत नकुहिने फोहोर निस्कने गरेको पाइएको छ । नगरका सात वटा वडाका दुई सय घर, होटल, पसलमा सर्वेक्षणमा गरिएको थियो ।
दीर्घकालीन फोहोरमैला व्यवस्थापनको योजना बनाउने उद्देश्यका साथ नगरपालिका लागि परेको मेयर गंगाप्रसाद खरेलले बताए । उर्लाबारीमा फोहोर व्यवस्थापन चुनौतीको विषय बनेकोले यसको समाधानका लागि आफूहरुको ध्यान केन्द्रीत भएको उनले बताए । सर्वेक्षणको प्रारम्भिक रिपोर्ट अनुसार उर्लाबारीमा रहेका १५ हजार ८९९ घरबाट दैनिक औषत ६ सय ग्राम प्रतिघर फोहोर निस्कने गरेको छ । हाल उर्लाबारीमा संकलित फोहोर वडा नं. ५ झुम्राहास्थित बक्राहा खोलाको छेउमा फ्याँकिदै आएको छ ।
दीर्घकालीन सोचका साथ फोहोर व्यवस्थापनको कार्य अघि बढाएर फोहोरबाट मोहोर प्राप्त गर्न सकिने छलफलमा बताइयो । फोहोर व्यवस्थापन गर्दा यहाँ दैनिक निस्कने १२.७४ टन फोहोरलाई प्रशोधन गरेर व्यवस्थापन गर्दा दैनिक करिब ५१ हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । त्यसका लागि फोहोरको वैज्ञानिक व्यवस्थापन गर्नु जरुरी छ । सर्वेक्षणको प्रतिवेदन अध्ययन गरेर उर्लाबारीको फोहोरमैला व्यवस्थापनका लागि आवश्यक कदम चालिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय