
विराटनगर, २ चैत
विराटनगरस्थित शिक्षादीप माध्यमिक विद्यालयले एमबीबीएसको प्रवेश परीक्षामा उत्कृष्ट परिणाम ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सो विद्यालयबाट कक्षा ११ र १२ पढाइ पूरा गरेकी छात्रा अदिती जैनले हालै चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थानमा नाम निकालेकी थिइन् । जैन करिब १८ हजार परीक्षार्थीहरु मध्ये चौथो तथा छात्राहरुमा प्रथम स्थानमा आएकी हुन् ।
पूर्व विद्यार्थी जैन र उनका बुबा अजयकुमार जैनलाई बिहिबार विद्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष एवम् कोशी प्रदेश सभाका सांसद भीम पराजुलीले फूलमाला र अबिर लगाइदिएर सम्मान गरे । सम्मानित भएपछि प्रफुल्ल भएकी जैनले कक्षा ११ र १२ को पढाइ भविष्यनिर्माण गर्ने र जीवनलाई सुखद बाटोमा लगाउने महत्वपूर्ण भएकाले सही विद्यालय छनौट गरी मिहिनेतका साथ अध्ययन गर्नुपर्ने बताइन् ।
आफ्नो सफलता प्राप्त गर्न शिक्षादीप विद्यालय परिवारले महत्वपूर्ण मार्गदर्शन तथा योगदान दिएको उनले स्मरण गरिन् । विद्यालयका अध्यक्ष भीम पराजुलीले विद्यालय १५ वर्षको उमेरमा हिँडिरहँदा हरेक वर्ष ऐतिहासिक र कीर्तिमानी रहेको बताए । उनले विगत वर्षहरुमा कीर्तिमानीका साथ पूर्ण छात्रवृत्तिमा एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीहरु गौरव नेपाल, सुशील यादव, सुजन पुरीलगायत दर्जनौलाई समेत सम्बोधन गरे ।
उक्त सम्मान कार्यक्रममा विद्यालयका पदाधिकारीहरु, शिक्षक र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । शिक्षादीप विद्यालयले २०६५ सालदेखि विज्ञान र वाणिज्य विषयमा कक्षा ११ र १२ कार्यक्रम चलाउँदै आएको छ । यस वर्ष चिकित्सा शिक्षा आयोगले फागुन २४ गते एमबीबीएसको प्रवेश परीक्षा लिएको थियो र बुधबार परिणाम सार्वजनिक भएको हो । शिक्षादीपबाट कति विद्यार्थीहरुले नाम निकाले यकिन भइनसकेको र सम्पूर्ण सूचना संकलित भएपछि सफल हुने अरु विद्यार्थीहरुलाई पनि सम्मान गरिने प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । माध्यमिक तहको कक्षा ११ र १२ का लागि काठमाडौँ जान नपर्ने मात्र होइन देश र विदेशमा पढाइ हुने चिकित्सा तथा इन्जिनियरिङको उच्च शिक्षामा शिक्षादीपको विद्यार्थी अब्बल र सफल प्रतिस्पर्धी बन्छन् भन्ने कुरा हरेक साल प्रमाणित हुँदै आएको प्रिन्सिपल खड्काले दाबी गरे ।