
उर्लाबारी, २७ फागुन
दोस्रो उर्लाबारी सेफ्टी ट्याङ्की वि डिभिजन व्याडमिन्टन प्रतियोगिताको उपाधि दमकका पुष्प पाण्डे र उत्सव उप्रेतीको जोडीले जितेको छ । उर्लाबारी सेफ्टी ट्याङ्कीको आयोजनामा उर्लाबारी–४ स्थित ज्यो. श्री खडानन्द खतिवडा स्मृति कवर्डहलमा आज सम्पन्न प्रतियोगितामा पथरी शनिश्चरेका सुमन राई र दिलकुमार राईको जोडीलाई पराजित गर्दै दमकको टिम विजेता बनेको हो ।
उपाधिसँगै पाण्डे र उप्रेतीको जोडीले नगद १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो बनेका पथरीका सुमन र दिलकुमारको जोडीले नगद १२ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उर्लाबारीका दावा तामाङ र चन्द्र लिम्बू तथा सञ्जय घिसिङ र राजु कट्वालको जोडी तेस्रो भएको छ । तेस्रो हुने टिमले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक सोमप्रसाद गुरागाईँले जानकारी दिए ।
विजेताहरुलाई उर्लाबारी नगरपालिका वडा नंं ४ का वडाध्यक्ष कल्याणकुमार राई, उर्लाबारी व्याडमिन्टन क्लबका अध्यक्ष हंशराज फागो, खेल संयोजक सोमप्रसाद गुरागाईँलगायतले पुरस्कार प्रदान गरेका थिए । हिजो सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ३४ टिमको सहभागिता रहेको छ ।