About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

विश्वका लाखौं आँखाको ज्योती नभएकाहरुलाई आँखा देख्ने बनाउने बिश्वबिख्यात आँखा रोग बिशेषज्ञ हुनुहुन्छ डा. सन्दुक रुइत । तिब्बतको सिमावर्ती ताप्लेजुङको विकट ओलाङ्चुङगोलामा जन्मिएका सन्दुक रुइत लाखौँ लाखले सम्झिने र पुजिने साक्षात् भगवान् सरह मानिनुहुन्छ । उहाँले हालै बहराइनमा १३ करोड राशीको पुरस्कार पाउनुभयो । पुरस्कार पाएपछि आफनो जन्म गाँउ फर्कनुभयो । आफनो जन्मगाँउ र आसपासका बासिन्दाको आँखाको उपचार गर्नुभयो । त्यस अवसरमा डा.रुइतले कञ्चनजंघाको काख र पाथीभराको फेदीमा रहेको सुन्दर जिल्ला ताप्लेजुङलाई संसारभरका पर्यटकको मुख्य आकर्षण र गन्तव्यका रूपमा चिनाउने इच्छा ब्यक्त गर्नुभएको छ । पर्यटन विकास भएमा आर्थिक गतिविधि बढ्नुका साथै नागरिकको गुणस्तरीय स्वास्थ्य, शिक्षाको पहुँचमा पुग्ने र आत्मनिर्भर हुने बाटो खुल्ने उहाँको भनाइ छ ।यसका लागि पर्यटन र अन्तरदेशीय व्यापार प्रवर्द्धनका लागि मुख्यरूपमा तमोर करिडोरको चाँडो निर्माण सम्पन्न हुनुपर्ने उहाँको भनाई छ । तमोर करिडोर छिटो सम्पन्न भएमा टिपताला नाका हुँदै आयात–निर्यात हुने र यसले ताप्लेजुङका जनतालाई फाइदा उहाँको विश्वास छ । तमोर करिडोर ओलाङचुङगोलासँग जोडिन करिब तीन किलोमिटर बाँकी छ । टिपतालाबाट ओलाङचुङगोला बस्ती तीन वर्षअघि नै सडक सञ्जालले जोडिएको छ ।कुनै समय उत्तरी चीनसँगका विभिन्न नाकाहरूलाई तिब्बतसँग जोडिएको टिपताला नाकाले लिड गर्ने गरेको तर हाल बन्द अवस्थामा रहेको हुनाले यसलाई खोल्न सरकारले कूटनीतिकरूपमा पहल गर्नुपर्ने अपेक्षा गर्नुभयो । निर्माणाधीन तमोर करिडोरले छिमेकी मुलुक चीन र भारतलाई सबैभन्दा छोटो मार्गबाट जोड्ने भएकाले सडक पूर्वाधारको निर्माण चाँडो सम्पन्न गरेर टिपताला नाका सञ्चालनमा ल्याउन आवश्यक भएको उहाँको भनाई छ । छिमेकी मुलुक चीनसँग व्यापारिक सम्बन्ध राखेर मुलुक र जनताको आर्थिक समृद्धिका लागि सरकारले कूटनीतिक पहलकदमी चाल्नुपर्ने डा रुइतको भनाइ छ ।

टिपताला नाका हाल बन्द रहेको छ । कोभिड सङ्क्रमणकालमा चीनले बन्द गराएको नाका हालसम्म नखुल्दा सीमावर्ती क्षेत्रका नागरिकलाई समस्या छ । झण्डै तीन वर्षदेखि नाका बन्द रहँदा टिपताला नाका हुँदै आयात–निर्यात पनि ठप्प छ । सीमावर्ती गाउँ ओलाङ्चुङगोला, घुन्सा, याङ्माका बासिन्दाले तिब्बतबाट खाद्यान्नलगायतका सामान आयात गर्ने गर्थे भने यहाँ उत्पादित गलैँचा, घ्यू, छुर्पी र जडीबुटी निर्यात गर्थे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय