About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उमा थापा, युरोप
युरोपेली मुलुक मध्ये अहिले धेरै नेपालीको रोजाइ पोर्चुगल हुने गरेको छ । कारण हो, अरु युरोपेली देशभन्दा पोर्चुगल नेपाली लगायत आप्रवासीका लागि अलि बढी उदारतावादी देखिएको छ । पछिल्लो समय धेरै नेपालीहरु पोर्चुगल पुग्ने गरेका छन् । तर यहाँको भौगोलिकता, भाषा लगायत कागजी प्रक्रिया बारे राम्रोसँग ज्ञान नहुँदा धेरै नेपाली लगायत आप्रवासीहरुले सास्ती बेहोर्नु परेको छ ।
नेपाली लगायतका आप्रवासीको समस्यामा मलम लगाउने काम अहिले पोर्चुगलमा स्थापना गरिएको सहायता कक्षले गरिरहेको छ । यसको स्थापनासँगै धेरैभन्दा धेरै नेपाली लगायत आप्रवासीले सास्ती पाउनबाट मुक्ति पाएका छन् ।
सहायता कक्षको स्थापना कसरी भयो त ?
नेपालमा सूचना प्रविधि अध्ययन गरेर स्वदेशमा नै केहि गर्छु भन्ने उद्देश्य राखेका बिक्की सुवेदी आफ्नो पढाइको उचित कदर नहुने देखेर करिब दश वर्ष अघि युरोप छिरे । युरोपको प्रचलित देश पोर्चुगल पुग्दा सुवेदीले सुरुवाती दिनमा धेरै समस्या भोगे । आफन्तको भरोसामा पोर्चुगल पुगेका सुवेदी उनै आफन्तको सहयोग पाउन बञ्चित भएको बताउँछन् । आफन्तले सहयोगको नाममा अन्तरघात गरे पछि बिचलित भए पनि हिम्मत भने नहारेको उनको अनुभव छ ।
उनी भन्छन्, ‘म भगवान मान्छु, सम्झिएँ एउटा बाटो बन्द भएपनि अरु बाटो उनै भगवानले देखाउँछन्, यहि आशा राखेर म आफ्नो कर्म गर्न थालेँ । यो बिचमा मैले कति समस्या र बाधा झेलेँ भन्ने साध्य छैन । त्यसैले एउटा अठोट गरेँ, मैले जति दुःख भोग्नुपरे पनि अब आउने नेपाली दाजुभाइ तथा दिदीबहिनी लगायतका आप्रवासीले मेरो जस्तो समस्या बेहोर्नु नपरोस् । म समाधानको सारथि बन्न सकुँ भन्ने सोचाइ आयो मेरो मनमा । यस्तै सोचाइले मेरो दिमागमा सहायता कक्षको भाव आयो र यसको जन्म भएको हो ।’
सहायता कक्ष अहिले नेपालीहरुको सहाराको सारथी मात्र होइन पोर्चुगलमा रहेका आप्रवासीको भरोसा बनेको छ । पर्याप्त पैसा कमाउने र पारिवारिक सम्पन्नतालाई मजबुद बनाउने उद्देश्यले विदेशिएका सुवेदी अहिले भने समस्यामा परेका नेपालीहरुका साथै अन्यका लागि समेत मलम भएका छन् ।
पर्वत जिल्लाको कुस्मामा स्थायी घर भएका विक्की हालः युरोपियन मुलुक पोर्चुगलमा बस्छन् । शुरुमा रोजगारीको लागि पोर्चुगल छिरेका उनी अहिले नेपालीहरु मध्य सबैभन्दा कान्छा ब्यवसायीको रुपमा परिचित छन् । करिब एक दशकदेखि ब्यवसायमा संलग्न भएका उनले आफ्नो “powerful Prism LDA नामक कृषि कम्पनी स्थापना गरेर सञ्चालनमा ल्याएका छन् । सोही कम्पनीमा विभिन्न आप्रबासीहरुलाई रोजगारी दिएका छन् । यसका अलावा सामाजिक सेवामा समेत लागेका सुवेदीको समूहले अन्य दुई कम्पनीको स्थापना गरी करिब तीन हजार ब्यक्तिलाई रोजगारी दिएको छ ।
उनले पोर्चुगलमा स्थापना गरेको ‘हेल्प डेक्स इन पोर्चुगल’ नामक संस्था अहिले एकदमै चर्चामा रहेकोे छ किनभने नेपाली कामदारहरुका लागि अत्यन्तै सहयोगी त छदैछ साथै अन्य आप्रवासीको लागि समेत सो संस्थाले सहयोग गर्ने गरेको छ । रोजगारीको सिलशिलामा पोर्चुगल आएका र समस्यामा परेका आप्रबासीहरुका लागि यो संस्था सारथी नै बनेको त्यहाँ स्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरुले नै बताउने गरेका छन् ।
एनआरएनए क्षेत्रीय समिति ओलेन्तेजो पोर्चुगलका उपाध्यक्ष समेत रहेका सुवेदीले हेल्प डेक्स इन पोर्चुगल सञ्चालनमा ल्याएर अफ्ठ्यारो परिस्थितिमा रहेका सम्पूर्ण आप्रवासीलाई सजिलो माध्यमबाट सेवा दिने गरेको बताए । पैसा कमाउने र सम्पन्न हुने र स्थायी रुपमा बसोबास गर्ने सपना बोकेर पोर्चुगल पुगेका विभिन्न देशका आप्रवासीहरु सुरुवाती दिनमा धेरै नै समस्यामा पर्ने गरेका छन् । कारण हो सहयोग गर्ने नाममा दैनिक रूपमा दलालले सिधा सोझा ब्यक्तिहरुलाई सहजै फसाउने गरेका धेरै उदाहरण छन् । विश्वास गरेर काम गरिदिने बहानामा धेरै नेपाली लगायत आप्रवासीले दुःख नपाउन् भन्ने उद्देश्य राखेर सुवेदीले हेल्प डेस्क इन पोर्चुगलको स्थापना गरेको बताए । उनले सोही संस्था मार्फत उचित रकम लिएर सम्पूर्ण आप्रवासीको पेपरको काम गरिदिने गरेको बताए । उनले भने ‘संस्थाले कुनैपनि आप्रवासीलाई छुट्टाउँदैन । यहाँसम्म आएर संस्थालाई विश्वास गरेर काम गरिदिन आग्रह गर्ने सम्पूर्णको काम सरल र सहज तरिकाले गरिदिन्छौँ । कसैलाई पनि समस्या नहोस् भनेर नै हामीले सहायता कक्षको स्थापना गरेका हौँ । सबैलाई समान भावनाले कदर गरेर काम गरिदिइरहेका छौँ र आगामी दिनमा अझै उद्वारताका साथ काम गर्ने जमर्को गरिरहेका छौँ ।’
युरोपको सेन्जेन देशहरु मध्ये पोर्चुगल आप्रबासी मामिलामा अलि उदार देश मानिन्छ । जसका कारणले पनि नेपालीहरु लगायत अन्य देशहरुका ब्यक्तिहरुको रोजाइ यो देश हुने गरेको छ । त्यसैले अहिले धेरै आप्रवासीको चाप बढेको सुवेदीले बताए । पोर्चुगलमा सबैभन्दा ठूलो समस्या भाषा रहेको छ । यहाँका हरेक कार्यालयहरुमा भाषा नजान्नेहरुका लागि कुनै पनि काम गर्न सहज छैन । पोर्चुगिसहरु आफ्नो भाषाप्रति ज्यादै कठोर हुन्छन् । कुनै पनि कामका लागि उनीहरु भाषा जान्ने लिएर आउन वा सिकेर आउन सुझाब दिन्छन् ।
अर्कोतिर आप्रबासीहरुले मिलाउनु पर्ने कागजी प्रक्रिया जथाभावी हुनाले समेत धेरैलाई समस्या पर्ने गर्दछ । कतिपयले नजानीकनै विभिन्न कुरा बताइदिने र सोही अनुसार आप्रबासीहरुले काम गर्ने कारण धेरैले समस्या भोग्नु नपरोस् भनेर नेपाली तथा आप्रबासीहरुलाई सक्दो सहयोग ‘हेल्प डेस्क इन पोर्चुगल’ ले गरिरहेको छ । हेल्प डेस्क इन पोर्चुगल’ को स्थापना भए पछि आप्रबासीहरुका लागि डकुमेण्टेशन तथा पोर्चुगलका विभिन्न सरकारी निकायहरुमा पर्ने समस्यालाई न्यूनिकरण र समाधान गर्न यो संस्थाले चौबिसै घण्टा सेवा दिने गरेको छ । हेल्प डेस्क इन पोर्चुगलले हाल अनुमतिसहित सहजै प्रबेशको वातावरण बनाउन लिगल इन्ट्री लिने, फिनान्सका सोसल अफिसका सम्पूर्ण कामहरु सहज रुपमा गराउने, बसोबास अनुमति तथा कार्डका लागि सेफ इन्ट्री गर्ने लगायत परामर्शदाताहरु लगायतको सेवा प्रदान गर्दै आएको सुवेदीले बताए । यदि कोही पनि नेपालीहरु पोर्चुगल आउँदै हुनुहुन्छ भने एकपटक हेल्प डेस्क इन पोर्चुगलसँग समन्वय गरेर मात्र आउन उनले सुझाव दिए । किनभने यहाँ आइसकेपछि समस्यामा पर्नुभन्दा आउनु अगाडि सम्पूर्ण प्रक्रिया बुझाउन समेत हेल्पडेक्सले सहयोग गर्दै आएको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय