
उर्लाबारी, १४ भदौ
आसन्न उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनका लागि प्रगतिशील साझा प्यानलको उम्मेद्वारी घोषणा गरिएको छ । सोमबार हाम्रो बचतको हलमा भएको उम्मेद्वारी घोषणा सभामा शेरबहादुर भण्डारीको नेतृत्वको टिम घोषणा भएको हो ।
नेकपा एमाले, नेकप (एस), माओवादी केन्द्र र राप्रपा मिलेर प्रगतिशील साझा प्यालन खडा गरेका हुन् । यो प्यालनबाट अध्यक्षमा शेरबहादुर भण्डारी, बरिष्ठ उपाध्यक्षमा यमलाल रसाइली, उद्योग उपाध्यक्षमा जंगबहादुर कार्की, बाणिज्य उपाध्यक्षमा पवन चौधरी, महासचिवमा सम्झना खतिवडा आचार्य, उद्योग सचिवमा डिल्लीराम खतिवडा, बाणिज्य सचिवमा यज्ञबहादुर बस्नेत र कोषाध्यक्षमा राजनप्रसाद दाहाल उम्मेद्वार खडा भएका छन् । यस्तै, सदस्यहरुमा नुतन राई, अनिल साहु तेली, नरेन्द्र थापा (जर्मन), नित्तम चौहान, निलप्रसाद गौतम, लेखा समिति संयोजकमा गजिन्द्र भण्डारी तथा लेखा सदस्यमा राधिका काफ्ले र फुर्वा तामाङ उम्मेद्वार छन् ।
प्रगतिशील प्यानलले केदार रिजालको संयोजकत्वमा उम्मेद्वार परिचालन उपसमिति गठन गरेको छ । यस्तै, गंगा बास्तोला संयोजक रहेको आर्थिक परिचालन उपसमिति, ज्ञानेन्द्र ओली संयोजक रहेको प्रचारप्रसार उपसमिति र सुनिल बोहोरा संयोजक रहेको स्वयम्सेवक परिचालन उपसमिति गठन गरेको छ ।
उम्मेद्वार छनौट तथा निर्वाचन परिचालन समितिका संयोजक तथा संघका पूर्व अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) ले उम्मेद्वारको नाम घोषणा गर्दै सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी, विशिष्ट अतिथि दमक उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईँ, नेकपा (एस) का नेता बलबहादुर घिसिङ, एमाले उर्लाबारीका अध्यक्ष उमाकान्त गौतम, नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष तोर्ण श्रेष्ठ, राप्रपा उर्लाबारीका अध्यक्ष देवीप्रसाद दाहाल, संघका संस्थापक अध्यक्ष गोवद्र्धन शाक्यले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा अध्यक्ष पदका उम्मेद्वार शेरबहादुर भण्डारीले आफ्नो प्यानलको प्रतिबद्धता राखेका थिए । जसमा व्यवसायीहरुको वर्गीकरण गरी सोही अनुसार शुल्क निर्धारण गरिने, एकल महिला, अपांगता भएका व्यक्तिहरु, ज्येष्ठ नागरिकहरुलाई व्यवसायिक सदस्यता प्रदान गर्दा २५ प्रतिशत छुटको व्यवस्था गर्नेलगायत नीति निर्माण, कोष, कर, सुरक्षा, उद्योग, व्यापार तथा कृषि प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, तालिम, सम्मान तथा सामाजिक दायित्व, हाटबजार व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।
संघको निर्वाचनका लागि नेपाली काँग्रेसले अध्यक्षमा तारामान सेरेङलाई अघि सारेको छ । तर, सो समूहको प्यानल घोषणा भएको छैन । संघको नयाँ नेतृत्व चयनका लागि भदौ ३१ गते निर्वाचन हुँदैछ ।



