
उर्लाबारी, २० फागुन
चौंथो उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले जितेको छ । आज सम्पन्न फाइनल खेलमा वडा नं. ३ लाई ट्राइबेकरमा पराजित गर्दै वडा नं. ८ ले उपाधि चुमेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि ट्राइबेकरबाट खेलको निर्णय गरिएको थियो । ट्राइबेकरमा ३–२ गोल अन्तरले वडा नं. ८ विजयी भएको हो । उपाधिसँगै वडा नं. ८ ले नगद ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. ३ ले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । फाइनल खेलको म्यान अफ दि म्याच वडा नं. ८ का योगेन्द्र कार्की घोषित भए ।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नं. ३ का सुरेश राईले नगद १० हजारसहित ट्रफी प्राप्त गरे । विधागत रुपमा उपाधि प्राप्त खेलाडीलाई जनही नगद ४ हजार रुपैयाँ र ट्रफी प्रदान गरियो । जसमा उदीयमान खेलाडी वडा नं. ८ का युग थापामगर, हाइ स्कोरर वडा नं. ९ का सन्नि लिम्बू, उत्कृष्ट गोल रक्षक वडा नं. ८ का सरोज धिमाल र उत्कृष्ट डिफेन्डर वडा नं. ३ का समिर तामाङले पुरस्कार प्राप्त गरे ।
विजेता, उपविजेतालगायत पुरस्कृत खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, आयोजक क्लबका अध्यक्ष अर्जुन नाल्बोलगायतले पुरस्कार वितरण गरेका थिए । राजघाट भेट्रान फुटबल क्लबको आयोजना उर्लाबारी–८ स्थित अरनिको माविको खेल मैदानमा प्रतियोगिता भएको थियो ।