
उर्लाबारी, १८ फागुन
उर्लाबारीमा जारी चौंथो मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ३ र वडा नं. ८ भिड्ने भएका छन् । आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा वडा नं. २ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नं. ८ विजयी भएको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्जुरी समयमा वडा नं. ८ का राज अधिकारीले गरेको गोल नै निर्णायक बन्यो । उनै अधिकारी खेलको म्यान अफ दि म्याच घोषित भए ।
उर्लाबारी–८ स्थित अरनिको माविको खेलमैदानमा जारी मेयर कपको पर्सि शनिबार हुने फाइनल खेलमा वडा नं. ३ र वडा नं. ८ बिच प्रतिस्पर्धा हुने भएको छ । हिजो सम्पन्न पहिलो सेमिफाइनलमा वडा नं. ९ लाई पराजित गर्दै वडा नं. ३ फाइनल प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सदस्य राकेश कार्कीले बताए । यस्तै, व्यक्तिगत विधामा उत्कृष्ट हुनेले समेत पुरस्कार पाउने उनले बताए ।