About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १७ फागुन
प्रदेश नम्बर १ ले आज नाम पाउने भएको छ । प्रदेशको नामका लागि दुईवटा प्रस्ताव दर्ता भएका छन् । नेकपा एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम ‘कोसी’ राख्न प्रस्ताव पेस गरेको छ । कोसी प्रदेशका लागि रामबहादुर मगर प्रस्तावक छन् । भूमिप्रसाद राजवंशी र निरन राईले समर्थन गरेका छन् ।
यस्तै पूर्व मुख्यमन्त्री राजेन्द्र राई प्रस्तावक र स्वास्थ्यमन्त्री निर्मला लिम्बू समर्थक रहेको किरात, लिम्बुवान र सगरमाथा नामको प्रस्ताव दर्ता गरिएको छ । एमाले,काँग्रेस र माओवादी केन्द्र कोशी प्रदेशको पक्षमा सहमत भएका छन् । नेकपा समाजवादी र जसपाले भने छुट्टै प्रस्ताव दर्ता गराएका हुन् ।
प्रदेशसभा सचिवालयले आज नामकरणको प्रस्ताव पेश हुने र आजै निर्णय हुने कार्यसूची सार्वजनिक गरेको छ । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार संविधानको धारा २९५ को (२) बमोजिम नामकरणका लागि आज प्रस्ताव पेश हुने र आजै निर्णय हुने कार्यसूची रहेको छ । प्रस्ताव टेबुलपछि नामकरणबारे बोल्न चाहने दलका नेता र सांसदलाई समय दिइनेछ । त्यसपछि संशोधनका लागि दुई घण्टा संसद्को बैठक स्थगित गरेर पुनः बैठक गरेर टेबल भएको नाम टुंगो लगाइने संसद सचिवलायले जनाएको छ ।
प्रदेश १ को पहिलो संसद्ले स्थायी राजधानी विराटनगर टुंगो लगाएको भए पनि नामकरण हुन सकेको थिएन । ७ वटा प्रदेशमध्ये यसअघि ६ वटा प्रदेशले आफ्नो पहिलो कार्यकालमै नाम टुङ्गो लगाइसकेका छन् । नेपालको संविधानमा प्रदेशको नामकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जना सांसद छन् । जसमध्ये नामकरणको टुंगो लगाउन दुई तिहाइ ६३ जना सांसद चाहिन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय