
दमक, १२ फागुन
झापाको दमक–६ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । शेयर सदस्यलाई संस्थाका गतिविधि र सेवा सुविधाका बारेमा जानकारी गराउने उद्देश्यले शुक्रबारबाट सदस्य शिक्षा कार्यक्रम सुरु गरेको हो ।
शुक्रबार दमक नगरपालिका वडा नं. २, ४, ६, ८ र १० तथा कमल गाउँपालिकाका शेयर सदस्यका लागि लक्षित गरिएको कार्यक्रमको संस्थाका सल्लाहकार समिति संयोजक रवि न्यौपानेले पानसमा बत्ती बालेर उद्घाटन गरे ।
चार सयभन्दा बढी शेयर सदस्य सहभागी रहेको कार्यक्रममा संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले संस्थाको गतिविधि र सदस्यलाई प्रदान गरिने सेवा सुविधाका बारेमा जानकारी गराएका थिए । उनले संस्थाको आर्थिक कारोबारको विवरण पनि प्रस्तुत गरेका थिए । ११ करोड ५० लाख रुपैयाँभन्दा बढी शेयर पुँजी रहेको स्वर्णलक्ष्मी साकोसले कुल १ अर्व १९ करोडभन्दा बढी कारोबार गर्न सफल भएको उनले बताए । यस्तै, ६५ करोड बचत, १ अर्व २३ लाख ऋण लगानी गरेको संस्थाको कोष हिसाब १० करोड ७७ लाख रहेको जनाइएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धिसागर बरालले सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने सचिव संजीव रिमालले स्वागत मन्तव्य राखेका थिए ।
संस्थाले शनिबार दमक नगरपालिका वडा नं. १, ३, ५, ७, ९ र दमक कार्यालय अन्तर्गतका अन्य सदस्यका लागि सदस्य शिक्षा कार्यक्रम आयोजना गरेको छ । यस्तै, उर्लाबारी, गौरादह, झिलझिले, सुरुङ्गा सेवा केन्द्रमा पनि कार्यक्रम सञ्चालन गरिने व्यवस्थापक घिमिरेले बताए । ८ हजार २७९ शेयर सदस्य रहेको संस्थामा ४९ जना कर्मचारी कार्यरत रहेका छन् ।