About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ फागुन
मोरङको उर्लाबारीमा हात्तीपाइले रोग निवारण अभियान २०७९ सुरु गरिएको छ । बिहिबार उर्लाबारी नगरपालिका उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले औषधि खाएर हात्तीपाइले रोग निवारण अभियान २०७९ को शुभारम्भ गरेका छन् ।
बिहिबारदेखि उर्लाबारीका ९ वटै वडामा औषधी सेवन अभियान सुरु भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरेश खड्काले जानकारी दिए । तालिम प्राप्त स्वास्थ्यकर्मीले नगरभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिक स्थल आदिमा बुथ राखी यो औषधि खुवाईनेछ । २५ फागुनसम्म मोरङसहित देशका ५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सुरु भएको हो ।
२ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडि ज्वरो आएका बिरामी बाहेक अन्य व्यक्तिहरुले उक्त औषधि खान मिल्ने स्वास्थ्य शाखाले जनाएको छ । मोरङमा हरेक वर्ष हात्तीपाइले विरुद्धको अभियान चलाइएपनि अहिलेसम्म औषधि प्रयोगको अवस्था कमजोर देखिएको र हात्तीपाइले रोगका संक्रमितहरू पनि फेला परिरहेकाले १२ औं पटक अभियान सञ्चालन गरिएको हो ।
मोरङमा १ सय १२ जना हात्तीपाइले रोगका बिरामी जनस्वास्थ्य कार्यालयको सम्पर्कमा छन् । हात्तीपाइले रोग विरुद्धको औषधिले अहिलेसम्म कसैलाई कुनै हानी नगरेकोले निर्वाध औषधि सेवन गर्न र यसको प्रचारप्रसार गरी सम्पूर्णले औषधि सेवन गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताएका छन् ।
आजबाट तालिमप्राप्त स्वास्थ्यकर्मीहरुबाट उर्लाबारी नगरपालिकाका सबै वडहरुमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने भएकाले सबै जनसमुदायलाई औषधी सेवन गरी आफू र आफ्ना सन्ततिलाई रोग लाग्नबाट बचाउन साथै हात्तीपाइले रोग निवारणमा सहयोग गर्न नगर स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय