
उर्लाबारी, ८ फागुन
मोरङको बेलबारीमा धिमाल संस्कृति प्रदर्शनीसहित ‘तेस्रो चिचिरी, गेन्द्रो दिवस २०७९’ हुने भएको छ । धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिको आयोजनामा फागुन १३ गते शनिबार बेलबारीस्थित ड्रिमल्याण्ड फनपार्कमा प्रदर्शनी हुन लागेको हो ।
धिमाल समुदायको खाद्य परिकारको प्रवद्र्धन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले एक दिवसीय कार्यक्रमको आयोजना गरिएको धिमाल जातीय विकास केन्द्रका केन्द्रीय महासचिव मात्रिका धिमालले जानकारी दिए । ‘संस्कृति, मौलिकता र स्वस्थ्य खाना’ भन्ने नारासहित धिमाल जातीय विकास केन्द्रले आफ्नो मौलिक सांस्कृतिक परिकार प्रवर्धनका लागि बेलबारीमा तेस्रो ‘चिचिरी, गेन्द्रो दिवस’ अर्थात् धिमाल फुड फेस्टिभल गर्न लागेको उनले बताए । यसअघि प्रथम पटक दमकमा र दोस्रो पटक उर्लाबारीमा फेस्ष्टिभल सम्पन्न भएका थिए ।
महासचिव धिमालका अनुसार फेस्टिभलमा विभिन्न खानाका परिकारका स्टल रहनेछन् । फेस्टिभलमा धिमाल समुदायको परम्परागत खाद्य परिकार चिचिरी र गेन्द्रोलाई जोड दिइने भएको छ । चिचिरी धिमाल समुदायमा विशेष प्रकारको चामलबाट पकाइने र गेन्द्रो पिठोबाट पकाइने परिकार हो । यस्तै, धिमाल समुदायका कतिपय संस्कृति, पोशाक, बाजा तथा परिकार धिमाल समुदायकै नयाँ पुस्ताले बिर्सदै गएकाले उनीहरुलाई चिनाउन र अन्य समुदायमा समेत धिमाल संस्कृतिबारे जानकारी गराउन फेस्टिभल सहयोगी हुने महासचिव मात्रिका धिमालको भनाई छ । कार्यक्रमलाई संगीतमय बनाउन राष्ट्रिय कलाकारहरु मेचु धिमाल, सञ्जिव धिमाल, डिगबहादुर धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार बिक्रम धिमाललगायतको प्रस्तुति रहने जनाइएको छ ।