
लेटाङ, ६ फागुन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश नं. १ कमिटीको आयोजनामा शनिबारदेखि मोरङको लेटाङमा तीन दिने आवासीय प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । पार्टीको आधारभूत तहसम्म प्रशिक्षण प्रदान गर्न प्रशिक्षकहरू तयार गर्ने उद्देश्यका साथ उक्त तालिम सुरु गरिएको प्रदेश नंं. १ कमिटी अध्यक्ष बलदेव चौधरीले जानकारी दिए ।
प्रशिक्षक प्रशिक्षणमा प्रदेश नं. १ का १४ जिल्लाका ६० जना प्रशिक्षार्थी सहभागी छन् । पार्टीका शीर्षस्थ नेतासहितले तालिम दिने गरी प्रशिक्षक प्रशिक्षणको व्यवस्था मिलाइएको अध्यक्ष चौधरीले बताए । प्रशिक्षणको आयोजना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश नं. १ पार्टी स्कूल कमिटीले गरेको हो । पहिलो दिनको तालिम उद्घाटन कार्यक्रमसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिका बारे प्रकाश पारेका छन् ।
त्यस्तै, पार्टीका सम्मानित नेता झलनाथ खनालले ‘पार्टीको मार्गदर्शक सिद्धान्त र अबको बाटो’ र महासचिव डा. बेदुराम भुषालले ‘संगठनात्मक सिद्धान्त तथा पार्टी अभियान’ बारे प्रशिक्षण प्रदान गरेका छन् । तालिम उद्घाटन कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा प्रदेश नं. १ इञ्चार्ज घनेन्द्र बस्नेत, अर्की उपाध्यक्ष जयन्ती राई र प्रदेश नं. १ कमिटी अध्यक्ष बलदेव चौधरीले शुभकामना मन्तव्य राखेका थिए ।