
ताप्लेजुङ, ३ फागुन
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका सम्बन्धमा सरोकारवालासँग छलफल गरेको छ । पालिकामा रहेका २८ वटै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक, पालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, शिक्षक संघ तथा संगठनका प्रतिनिधिहरुसँग गाउँपालिकाले शिक्षक व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधारका विभिन्न विषयमा छलफल गरेको हो ।
छलफलमा मैवाखोलाको शैक्षिक स्तर उकास्न सबै पक्ष क्रियाशील रहने प्रतिबद्धता जाहेर भएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । अध्यक्ष वनेमका अनुसार छलफलमा विभिन्न निर्णय गरेको छ । विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न सबै पक्ष लागि पर्ने, कतिपय विद्यालयहरुमा भइरहेको शिक्षकहरुको अनियमिततालाई नियन्त्रण गर्न गाउँ शिक्षा समितिले कानुनी प्रक्रिया अनुसार चाल्ने कदमलाई सहयोग पु¥याउने, अति न्यून विद्यार्थी संख्या रहेका विद्यालयलाई नजिकका विद्यालयसँग एकीकरण (मर्जर) गर्न वा तह घटाउन गाउँ शिक्षा समितिलाई सहयोग गर्ने, स्थानीय आवश्यकताका आधारमा शिक्षकहरुको ब्यवस्थापन र दरबन्दी मिलानका लागि सहयोग गर्न सरोकारवाला सहमत भएको अध्यक्ष वनेमले बताए ।
मैवाखोलालाई शैक्षिक रुपमा बस्न लायक पालिका बनाउने लक्ष्यका साथ गाउँपालिकाले योजना अघि बढाएको उनले बताए । यसका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताउँदै अध्यक्ष वनेमले भने, ‘पालिकाबासी सबैको साथ सहयोग रहने हो भने भने चाँडै मैवाखोलाको शैक्षिक गुणस्तर सुधारमा आमूल परिवर्तन आउने छ ।’