About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ फागुन
चालु शैक्षिक सत्रको अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशित भएलगत्तै मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठले वडाका सबै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकको भेला बोलाए । शुक्रबारको दिन वडा कार्यालयमा शिक्षक भेला गर्दा कतिपय बुज्रुगले पढाउने समयमा भेला बोलाएको भनेर ‘खिसीट्युरी’ समेत गर्न भ्याए ।
यस्ता कुरामा उनले ध्यान दिएनन्, ध्यान दिए त परीक्षाको नतिजा विश्लेषण र सुधारमा । ‘धेरै विद्यार्थीको रिजल्ट कमजोर पाइयो’ उनले भने, ‘कमजोर रहेका विद्यार्थीको शैक्षिक स्तर सुधार गर्न गाउँपालिकाका शिक्षा शाखा प्रमुख काशीनाथ खनाल, विद्यालयका प्रअ र शिक्षकसँग छलफल भयो ।’
श्रेष्ठ मोरङकै कान्छो वडाध्यक्ष हुन् । २४ वर्षीय उनी अहिले वडाको शैक्षिक सुधारको अभियानमा लागेका छन् । शैक्षिक विकास विना अरु क्षेत्रको विकास ओझेलमा पर्ने राम्ररी बुझेका वडाध्यक्ष श्रेष्ठ शिक्षा क्षेत्रलाई राजनीतिमुक्त गराई गुणस्तर बृद्धिको अभियानमा लागेका हुन् । गत महिना दुई शिक्षक लिएर उनी बुटवलको कालिका मावि पुगे । देशमै सबैभन्दा बढी विद्यार्थी भएको नमूना सामुदायिक विद्यालय कालिका माविको व्यवस्थापनबाट उनी प्रभावित भए । ‘प्रयास गर्दा शैक्षिक विकास गर्न सकिने रहेछ’ वडाध्यक्ष श्रेष्ठले भने, ‘कालिका माविबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भयो ।’
चालु आर्थिक वर्षमा वडाले शिक्षामा पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ । उक्त बजेटबाट वडाका सबै विद्यार्थीलाई टाइ र बेल्ट वितरण गरिएको छ । यस्तै, कम दरबन्दी भएका विद्यालयमा शिक्षकको व्यवस्था मिलाइएको छ । मिक्लाजुङ वडा नं. २ मा पाँच वटा आधारभुत विद्यालय छन् । रानीपोखरी आधारभुत विद्यालय र इन्द्र आधारभुत विद्यालयमा कक्षा ८ सम्म, भगवती आवि र जनकल्याण आविमा कक्षा ५ सम्म र चुलाचुली आविमा कक्षा ३ सम्म पढाइ हुन्छ ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन इन्द्र आधारभुत विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको र आगामी शैक्षिक सत्रदेखि वडाका पाँच वटै विद्यालयका नर्सरी, केजी र कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने उनले बताए । ‘सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा दिन सकिन्छ’ वडाध्यक्ष श्रेष्ठले भने, ‘विद्यालयको भौतिकसँगै पठनपाठनमा सुधार गरेर शैक्षिक विकास गर्ने लक्ष्य छ ।’ सबै विद्यालयका शिक्षकहरुलाई ड्रेस र आइडी कार्ड अनिवार्य गरिएको छ । शिक्षा सुधारको योजनामा शिक्षकहरुले पनि साथ दिएको वडाध्यक्ष श्रेष्ठ बताउँछन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय