
उर्लाबारी, २९ माघ
उर्लाबारीमा जारी प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको आज अन्तिम दिन चर्चित गायक राजनराज शिवाकोटी र टिका प्रसाईको प्रस्तुति रहने भएको छ । महोत्सवको औपचारिक समापन कार्यक्रम आज दिउँसो भएपनि साँझ चर्चित गायक गायिकाको प्रस्तुति रहने महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराई भरतले जानकारी दिए ।
९ दिनसम्म सञ्चालन भएको महोत्सवको समापन कार्यक्रम प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । समापन कार्यक्रममा मन्त्री सिटौलासहित नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, प्रदेश सांसद विद्या चाम्लिङ, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, नेकपा एस नगर अध्यक्ष डिवी थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईँ, सहकारी सञ्जाल उर्लाबारीकी अध्यक्ष सीता कार्की, संघका पूर्वअध्यक्षहरु महेन्द्रजंग तामाङ र तेजकुमार रिजालले मन्तव्य राखेका थिए ।
आयोजक उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराई भरत र सहसंयोजक प्रितम खड्गीले महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सञ्चालन महासचिव हेमराज गुरुङले गरेका थिए ।