
उर्लाबारी, २१ माघ
मोरङको उर्लाबारीमा आजबाट प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरू हुँदैछ । आज बिहान १० बजे प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराई भरतले जानकारी दिए ।
आज बिहान १० बजे औपचारिक कार्यक्रम सुरु हुँदैछ । उक्त कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कार्कीसहित नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, सांसदहरु, उर्लाबारीलगायत छिमेकी नगर तथा गाउँपालिकाका प्रमुखहरुको आतिथ्यता रहने संयोजक भट्टराईले बताए ।
९ दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोबार हुने आयोजकले अपेक्षा गरेको छ । आयोजक उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीका अनुसार महोत्सवमा १७० स्टल रहने छन् । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गर्ने हेतुले आयोजना गर्न लागिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका खनिजजन्य, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल रहने छन् । महोत्सवमा नेपाललगायत बंगलादेश, पाकिस्तान, भारतका स्टल पनि रहेका छन् । उर्लाबारी–४ नगरपालिका कार्यालय पूर्वपट्टि महोत्सव सञ्चालन हुँदैछ ।