
उर्लाबारी, १८ माघ
सालबारी सामुदायिक वन उपभोक्ता समूह उर्लाबारी–२ ले विपन्न परिवारका १६ जनालाई सिकर्मी तालिम दिएको छ । उक्त वनले १५ समूहका १६ जना विपन्न परिवारका युवायुवतीलाई तालिम दिन सुरु गरेको हो ।
गरिबी न्युनीकरण कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको वन समूहका अध्यक्ष नरेन्द्र थापा जर्मनले जानकारी दिए । तालिममा १२ पुरुष र ४ महिला सहभागी छन् । एक महिनासम्म सञ्चालन हुने तालिममा काठका सामान बनाउने विभिन्न सीप सिकाइने अध्यक्ष थापाले बताए । सीप सिकेर आत्मनिर्भर बन्न यो तालिमले सहयोग गर्ने उनले बताए ।
यसैबीच, सालबारी सामुदायिक वन उपभोक्ता समूहले विपन्न परिवारलाई ६० हजार मूल्य बराबरको काठ निःशुल्क प्रदान गरेको छ । वन समूहकी उपभोक्ता समेत रहेकी अनिशा धिमाललाई ६ सय फुट काठ प्रदान गरेको हो । धिमाललाई उर्लाबारी–२ का वडाध्यक्ष राजन कँडेल, वनका अध्यक्ष जर्मन थापालगायत पदाधिकारीले काठ हस्तान्तरण गरेका हुन् । उक्त वन समूहले यसअघि २१ घर विपन्नलाई निःशुल्क काठ प्रदान गरेको थियो ।