About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १२ भदौ
हेमराज गुरुङ, उर्लाबारीका उम्दा व्यवसायी हुन् । डेढ दशकदेखि व्यापार व्यवसायमा संलग्न गुरुङ उर्लाबारीका स्थापित व्यवसायीका रुपमा परिचित छन् । तमु सुनचाँदी पसल दुर्गापुरीका सञ्चालक हेमराजको हसिलो, मिजासिलो व्यवहारले सबै प्रभावित हुन्छन् ।
आगामी भदौ ३१ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदको उम्मेद्वार बनेका छन् हेमराज । संघको गत निर्वाचनमा महासचिवमै प्रतिस्पर्धा गरेका हेमराज झिनो मत अन्तरले पराजित भएका थिए । ‘पहिले व्यापारीको मन जितेँ, यस पटक मत जित्छु’ उनले भने ।
संघको निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा एमालेले छुट्टाछुट्टै प्यानल बनाउने बताएपनि अहिलेसम्म प्यानल घोषणा गरेका छैनन् । तर, नेपाली काँग्रेस निकट व्यवसायीको तर्फबाट हेमराज महासचिवको उम्मेद्वार बन्ने पक्कापक्की छ । गठबन्धनबाटै महासचिवको उम्मेद्वार भएपनि उनी दलीय राजनीतिसँग उति साह्रो नजिक छैनन् । उनी भन्छन्, ‘आस्था रहेको हुन्छ । ब्यापारीको हक, अधिकार र ब्यावसायिक सुरक्षा मेरो बटमलाइन हो ।’ एक कार्यकाल संघको कार्यसमिति सदस्य रहेर कुशलतापूर्वक कार्यसम्पादन गरिसकेका उनी संघमा केही गरौं भन्ने अठोट लिएर महासचिवको उम्मेद्वार बनेको बताउँछन् । ‘एक कार्यकाल कार्य समिति सदस्य बनेँ, कार्यकाल पनि सुखद रह्यो’ उनले भने, ‘जुन महत्वाकांक्षा बोकेर वाणिज्य संघ प्रवेश गरेको थिएँ, त्यो पूरा गर्न यस पटक महासचिव पदको उम्मेद्वार बनेको छु ।’


हेमराज व्यापारिक क्षेत्रमा मात्र होइन, सामाजिक क्षेत्रमा पनि अग्रणी छन् । २०७२ सालमा उनले सुरु गरेको राजघाट उज्यालो अभियानले सार्थकता पाएको छ । १८ घण्टासम्म लोडसेडिङको समयमा उर्लाबारीमै पहिलो पटक दुर्गापुरीमा उनले सुरु गरेको सडक बत्ती अभियानले अहिले पनि दुर्गापुरी बजार झिलिमिली छ । तीन किलोमिटर क्षेत्रमा सडक बत्ती जडान गरिएको छ ।
हङ्कङ् आइडी र बेलायतको ग्रिनकार्डको अवसर हुँदाहुँदै पनि आफ्नै गाउँ ठाउँमा केही गर्ने उद्देश्यका साथ स्वदेशमै व्यापार, व्यवसायसँगै समाजसेवामा सक्रिय छन् । उर्लाबारीका विभिन्न संघसंस्था, मठमन्दिरलगायतमा आर्थिक सहयोग गरेका उनको सक्रियताले सबैलाई लोभ्याउँछ । सामान्य खेलकुद होस् वा विकास निर्माणका काम, पुराण होस् या कुनै सामाजिक अभियान, हेमराजको दैलामा पुग्नेहरू खाली हात फर्किका छैनन् । उर्लाबारी जेसीज, लायन्स क्लब अफ उर्लाबारीलगायत विभिन्न संघसंस्थामा आवद्ध छन् उनी ।
हेमराज पहिले मोवाइल पसल गर्थे । पछि २०६८ देखि सुन पसलतिर लागे । ५ वर्ष वैदेशिक रोजगारमा कठिन श्रम गरेपछि उनी ब्यावसायमा लागेका हुन् । ताप्लेजुङको दोखुमा जन्मिएका ३९ वर्षीय ब्यवसायी गुरूङले अहिले आफ्नो उर्लाबारी–८ स्थित तमु सुन चाँदी पसलमा ४ जनालाई रोजगार दिएका छन् । व्यापारी व्यवसायीको हितमा कटिबद्ध रहेको बताउँदै हेमराजले भने, ‘अहिले पनि व्यापारीका समस्यामा साथ दिएकै छु, पछि पनि निरन्तरता कायमै रहेन छ ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय