About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

– रेवत सुवेदी

कृषि क्रान्ति आर्थिक विकासको सूचक हो । औद्योगिक क्रान्ति देशको समग्र विकास र समृद्धिको परिसुचक हो । जुन देशको कृषि र औद्योगिक क्षेत्र चलायमान हुन्छ, त्यो देशको अवस्था समृद्धिको बाटोमा लम्किरहेको हुन्छ । हाम्रो जस्तो विकासोन्मुख देश न त आर्थिक विकासको गतिले फड्को मार्न सक्छ न त त्यो देशको सम्पूर्ण अर्थ व्यबस्था ठीक हुन्छ । हाम्रो देशको अर्थतन्त्र अनि विकासको गतिलाई हेर्ने हो भने दिनप्रतिदिन चिन्ताको विषय बन्न पुगेको छ ।
चालू आर्थिक वर्षलाई मात्र हेर्ने हो भने ब्यापार घाटा फराकिलो अन्तरले बढिरहेको देख्न सकिन्छ । सरकारको विकास खर्चभन्दा पनि साधारण खर्चमा आएको तीब्र वृद्धिले देश आर्थिक दलदलमा फस्दै गइरहेको कुरा स्पष्ट देख्न सकिन्छ । देशको आर्थिक, सामाजिक, साँस्कृतिक आदि विविध क्षेत्रमा नकारात्मक प्रभाव बढ्दै गइरहेको छ । यस्तो परिस्थितिको सृजना हुनुमा सबैभन्दा महत्वपूर्ण जिम्मेवारी राजनीति अस्थिरता र मौलाइरहेको भ्रष्टाचारलाई मान्न सकिन्छ । राजनीतिक अवस्था जबसम्म सबल हुन सक्दैन, देशको कुनै पनि विकासको गतिले फड्को मार्न असम्भव देखिन्छ । केही वर्षअघिको कोरोना कहरले विश्वको सम्पूर्ण अर्थव्यवस्था डामाडोल बनाएको परिस्थिति छ । नेपाल जस्ता देशहरुको अवस्था नाजुक बन्दै गइरहेकोछ । सरकारका गलत नीति र गैरजिम्मेवारीपनले अझ समस्या दिनप्रतिदिन जटिल बन्दै गइरहेको कुरा हामीसामु छर्लङ्ग छ । बैंकहरुको पनि बैंक राष्ट्र बैंकको मौद्रिक नीतिमा आएको फेरबदलले देशको समग्र विकास र उत्पादनशील क्षेत्रहरु प्रायः ठप्प छन् । बैंकिङ तथा वित्तीय क्षेत्रको लगानी प्रायः शून्य जस्तै छ, बैंकको चुलिएको ब्याजदर नीतिले ब्यापारी तथा उद्योगपति मात्र होइन साना तथा मझौला उद्योग व्यवसायलगायत कृषकहरु मारमा परिरहेका छन् । बैंकको चर्को ब्याज खेप्न नसकेर कति उद्यमीहरुले ज्यान पनि आहुती गरिसकेका घटना हामी सामु छर्लङ्ग छ ।
देशको यस्तो विषम परिस्थितिका बाबजुद पनि उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा प्रादेशिक औद्योगिक तथा कृषि महोत्सव हुन लागेको छ । महोत्सवले उर्लाबारीको विकासमा उत्थान गर्ने र स्थानीय वस्तुहरुको बाहुल्यता बढाउनको लागि टेवा दिने कुरामा हामी बिश्वस्त छौँ । एक क्षेत्रको विकासको गतिले अर्को क्षेत्रमा प्रभाव पार्ने भएकोले यस्तो खालको प्रदर्शनीले राष्ट्रस्तरमा नै महत्व राख्ने कुरामा दुई मत छैन । यो औद्योगिक प्रदर्शनी माघ २१ गतेदेखि सञ्चालन हुने र यस प्रदर्शनीमा करिब २ लाख जनसहभागिता भई वस्तुहरुको अवलोकन गर्ने अपेक्षा गरिएको छ । यसबाट समग्र देशमा रहेका ब्यापारिक क्षेत्रहरु लगायत पर्यटनमा पनि यस्तो प्रदर्शनीको सकारात्मक सन्देश जान्छ । देशको थलिएको अर्थतन्त्रलाई माथि उकास्ने हेतुले र स्थानीय उत्पादनका सामग्रीलाई उत्पादक र ग्राहक वर्गको प्रत्यक्ष सम्पर्क गराइदिने भएकोले यस्ता प्रदर्शनीको छुट्टै आफ्नो महत्व छ ।
नौ दिन चल्ने यस महोत्सवमा १७० स्टल रहने र लगभग ७० प्रतिशत स्टल बुक भइसकेको महोत्सव व्यवस्थापन समितिका संयोजक चन्द्रबहादुर भट्टराई भरतले जानकारी दिनु भएको छ । यस महोत्सवमा अन्तर्राष्ट्रिय बजारका सामानहरुको पनि प्रदर्शनी हुने भएकोले यसको गरिमा अझै बढ्ने कुरामा हामी विश्वस्त छौँ । देशको आर्थिक अवस्था जर्जर भइरहेको समयमा भएका यस्ता प्रदर्शनीले स्थानीय स्तरका सामग्रीलाई बजारमा ल्याउन प्रेरणामात्र दिने हैन राष्ट्रको आर्थिक अवस्थामा पनि टेवा दिने भएकोले यस्ता खालका महोत्सवले विशेष महत्व राख्दछन् । आशा र भरोसाको केन्द्र बनोस् हाम्रो उर्लाबारी नगरीमा हुन गइरहेको प्रादेशिक तथा कृषि महोत्सव । उर्लाबारीवासीको तर्फबाट सफलताको शुभकामना ।
उर्लाबारी–७, मोरङ

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय