
उर्लाबारी, १५ माघ
उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी आइतबार वडाको पूर्वी सिमाना बक्राहा बाँधको दक्षिणतर्फको बस्तीमा छिरे । आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीसहित त्यहाँ पुगेका बुढाथोकीले स्थानीय वासिन्दाको स्वास्थ्य परीक्षण गराए ।
उक्त टोलीले स्थानीयको घरआँगनमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गर्यो । औषधीसहित स्वास्थ्यकर्मी लिएर वडाध्यक्ष घरघरमा पुगेपछि स्थानीय खुसी भएका छन् । बुढाथोकीले यो अभियान केही दिन अघिबाट सुरु गरेका हुन् । यसअघि वडाकै सृजना टोलका बासिन्दाको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको थियो ।
वडावासीको स्वास्थ्यलाई ध्यान दिँदै टोल टोलमा स्वास्थ्यकर्मी–घर घरमा औषधी अभियान सुरू गरेको वडाध्यक्ष बुढाथोकीले बताए । गरिब, विपन्न र अस्पतालसम्म पहुँच पुग्न नसकेका नागरिकलाई लक्षित गरी यो अभियान सुरु गरिएको उनले बताए । आर्थिक अभावका कारण रोग लुकाएर बस्नु पर्ने अवस्थाको अन्त्य गर्नका लागि आफूसहित वडा कार्यालय लागिपरेको उनको भनाई छ ।
सो वडाले गर्भवती महिलाहरुका लागि प्रत्येक महिनाको १९ गते वडा कार्यलयमा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा निःशुल्क भिडियो एक्सरेको सुविधा समेत दिँदै आएको छ ।