
उर्लाबारी, १४ माघ
उर्लाबारीमा सञ्चालित वडा स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि वडा नं. ३ का राजनहाङ लावती र राजु कट्वालले जितेका छन् । आज सम्पन्न दोश्रो वडा स्तरीय नकआउट व्याडमिन्टन प्रतियोगिताको फाइनलमा वडा नं. ३ ले वडा नं. ४ का ध्रुव खत्री र फडिन्द्र दहाललाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
उपाधिसँगै वडा नं. ३ का खेलाडीले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । साथै, उपविजेता वडा नं. ४ का खेलाडीले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । यस्तै, तेस्रो स्थान हासिल गर्ने वडा नं. ५ का हंश फागो र उत्तम मगर तथा वडा नं. ९ का सञ्जय घिसिङ र अर्जुन नाल्बोले पाँच हजार पुरस्कार पाए ।
प्रतियोगिता अन्तर्गत वि डिभिजनमा वडा नं. ८ का पोष्ट मगर र पूर्ण गुरुङ प्रथम, वडा नं. ६ का सुरेन्द्र कार्की र प्रेमदावा तामाङ दोस्रो तथा वडा नं. ५ का चन्द्र लिम्बू र दिलु श्रेष्ठ, वडा नं. ४ का प्रकाश ढुंगाना र नितन रेग्मी तेस्रो भए । यो विधामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, ८ हजार र ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै, भेट्रानतर्फ वडा नं. ९ का अर्जुन नाल्बो र गोपाल राई प्रथम, वडा नं. ५ का हंश फागो र कोमल शाक्य दोस्रो तथा वडा नं. ६ का सुरेन्द्र कार्की र प्रेमदावा तामाङ, वडा नं. ४ का बासु घिमिरे र हेमराज ढुंगाना तेस्रो भएका छन् । भेट्रानतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, ८ हजार र ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिता समापनको अवसरमा विजयी खेलाडीहरुलाई उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपमेयर मीना खतिवडा पौडेल, वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीलगायतले पुरस्कार प्रदान गरे । उर्लाबारी व्याडमिन्टन क्लबको आयोजनामा उर्लाबारी–४ स्थित खडानन्द खतिवडा स्मृति कवर्ड हलमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजक क्लबका अध्यक्ष हंश फागोले धन्यवाद ज्ञापन गरेका छन् ।