
उर्लाबारी, ९ माघ
उर्लाबारीमा विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मोरङ मोडल आवासीय माध्यमिक विद्यालयको आयोजनामा सुरु प्रतियोगिता अन्तर्गत आजका खेलमा मोरङ मोडल कलेज, सरस्वती मावि, भृकुटी मोडल एकाडेमी, मनोहर जनता मावि र राधिका मावि विजयी भएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा मोरङ मोडलले भगवती मावि मधुमल्लालाई पराजित ग¥यो । यस्तै, दोस्रो खेलमा होलिचाइल्ड बोर्डिङलाई पराजित गर्दै सरस्वती मावि अर्को चरणमा प्रवेश गरेको छ । तेस्रो खेलमा भृकुटी मोडल एकाडेमीले राष्ट्र निर्माण बोर्डिङलाई, चौंथो खेलमा मनोहर जनता माविले पशुपति आमाविलाई र पाँचौं खेलमा राधिका माविले सुनगाभा बोर्डिङ स्कुललाई पराजित गरेको आयोजक विद्यालयका निर्देशक यादप भण्डारीले जानकारी दिए ।
भलिबल प्रतियोगिताको आज एक कार्यक्रमका बीच उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नगर प्रमुख खरेलसहित राधिका माविका प्रधानाध्यापक कुमार पोखरेल, प्याव्सनका केन्द्रीय सदस्य केदार खनाल, प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई, एनप्याव्सन प्रदेश समिति सदस्य दिपक न्यौपाने, भलिबल संघ प्रदेश १ का उपाध्यक्ष वीरबल थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
माघ ११ गतेसम्म चल्ने प्रतियोगितामा उर्लाबारी, दमक, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका १६ विद्यालयको सहभागिता रहेको उनले बताए । प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रोले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित मेडल र ट्रफी प्राप्त गर्ने निर्देशक भण्डारीले बताए । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत ट्रफीको व्यवस्था गरिएको छ ।



