
मोरङ, ११ भदौ
मोरङमा स्थानीय तहले जोखिमको अवस्थालाई मध्यनजर गर्दै भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले बिहिबार जारी गरेको निषेधाज्ञामा विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिइएको छ ।
‘कोभिड १९ को कारण लामो समयदेखि बन्द अवस्थामा रहेका विद्यालयहरुमा संक्रमणको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यका मापदण्डको पालना गर्दै तथा सिकाइ सहजीकरण निर्देशिकाको आधारमा स्थानीय तहले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन कार्य सुरु गर्न सक्ने’ प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले हस्ताक्षर गरेको आदेशमा भनिएको छ ।
नेपालमा दोस्रो लहरको कोरोना संक्रमण देखिएपछि मोरङमा गत वैशाख १८ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । सोही बेलादेखि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन बन्द भएको थियो । अहिले कतिपय विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् भने कतिपय विद्यालयमा पठनपाठन सुरु हुन सकेको छैन । जिल्ला प्रशासनले जिल्लाका उत्तरी पालिकाहरुमा संक्रमण बढीरहेको र दक्षिणी पालिकाहरुमा न्युन हुँदै गएको जनाएको छ ।