
उर्लाबारी, ७ माघ
प्रगतिशील सामुदायिक वन उपभोक्ता समूह उर्लाबारी–२ को आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलको प्रमुख आतिथ्यतामा भएको साधारणसामा वक्ताहरुले वन संरक्षणमा जोड दिएका थिए ।
साधारणसभामा समूहका अध्यक्ष सविन खड्काले वार्षिक प्रस्तावित कार्यक्रम, सचिव विन्दिया दनुवारले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरिबहादुर कटुवालले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वन समूहले वन संरक्षण तथा सम्बद्र्धन, वन सदुपयोग, संस्थागत विकास, गरिबी न्यूनीकरण कार्यक्रम, पर्यापर्यटन सम्बन्धी कार्य गरिएको प्रतिवेदन उल्लेख छ । गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत १३ जना उपभोक्तालाई मौरीपालन तालिम गराई घार वितरण गरेको, वन क्षेत्रभित्र वनभोज स्थल निर्माण गरिएको, जंगल क्षेत्रभित्र रहेका ढलापडा सुक्खा रुखहरु कटान गरी उपभोक्तालाई काठ दाउरा वितरण गरिएको, तार जाली, घेराबारा, झाडी सफाई, वृक्षरोपण, गोडमेल गर्ने कार्यलाई निरन्तरता दिएको सचिव दनुवारले बताइन् ।
वन क्षेत्रमा पर्यापर्यटनको विकास गर्ने उद्देश्यका साथ एउटा वनभोज स्थल निर्माण गरेको र चालु आर्थिक वर्षमा थप दुई वटा स्थल निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष खड्काले बताए । उनका अनुसार हाल निर्माण गरिएको वनभोज स्थल पश्चिम डुमा खोला किनारमा रहेको प्राकृतिक सिमसार क्षेत्रलाई संरक्षण गर्दै पोखरी निर्माण गरी डुंगा सञ्चालनमा ल्याउने योजना रहेको छ । यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भएकोले स्थानीय, प्रदेश र संघीय सरकार समक्ष सहयोगको आह्वान गरिने अध्यक्ष खड्काले बताए ।
साधारणसभामा प्रमुख अतिथि नगर उपप्रमुख मीना खतिवडा पौडेल, सामुदायिक वन महासंघका प्रदेश सचिव अग्नि पौडेल, वडाध्यक्षहरु, सामुदायिक वनका सरोकारवालाहरुले शुभकामना मन्तव्य राखेका थिए । वन समूहका अध्यक्ष सविन खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष हरिबहादुर कटुवालले गरेका थिए भने स्वागत मन्तव्य सहसचिव तारिलाल धिमालले राखेका थिए ।