
उर्लाबारी, ५ माघ
उर्लाबारीमा विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मोरङ मोडल आवासीय माध्यमिक विद्यालयको आयोजनामा माघ ९ गतेदेखि प्रथम मोरङ मोडल पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा उर्लाबारी, दमक, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका १६ विद्यालयको सहभागिता रहने मोरङ मोडलका निर्देशक यादप भण्डारीले जानकारी दिए । प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउने उनले बताए । माघ ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रोले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित मेडल र ट्रफी प्राप्त गर्ने निर्देशक भण्डारीले बताए । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत ट्रफीको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा मोरङ मोडल आमावि, भगवती मावि, भृकुटी मोडल एकाडेमी, राष्ट्रनिर्माण बोर्डिङ, राधिका मावि, सुनगाभा बोर्डिङ स्कुल, सिद्धार्थ बोर्डिङ, सार्वजनिक माविको सहभागिता रहने छ । यस्तै, होलीचाइल्ड बोर्डिङ स्कूल, सरस्वती मावि, पशुपति आमावि, मनोहर जनता मावि, पञ्चायत मावि, लक्ष्मी मावि, अरनिको मावि र उर्लाबारी बहुमुखी क्याम्पसका टिमको सहभागिता रहने निर्देशक भण्डारीले जानकारी दिए ।



