About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ५ माघ
दुई सातापछि उर्लाबारीमा हुन लागेको प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोबार हुने आयोजकले अपेक्षा गरेको छ । आगामी माघ २१ देखि २९ गतेसम्म सञ्चालन हुने महोत्सवको सन्दर्भमा आज आयोजक उर्लाबारी उद्योग वाणिज्य संघले गरेको पत्रकार सम्मेलनमा महोत्सवमा १७० स्टल रहने जानकारी गराइयो ।
उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गर्ने हेतुले आयोजना गर्न लागिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका खनिजजन्य, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल रहने महोत्सवका संयोजक तथा उर्लाबारी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चन्द्रबहादुर भट्टराई भरतले बताए । महोत्सवमा बंगलादेश, पाकिस्तान, भारत लगायतका देशका १३ स्टलको बुकिङ भइसकेको उनले जानकारी दिए ।
नौ दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल लगायत छिमेकी देशका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेला गराई सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी गराउनु मुख्य उद्देश्य रहेको संयोजक भट्टराईले बताए । महोत्सवमा कृषिजन्य वस्तुको विशेष प्रदर्शनी, खाना तथा घरेलु उत्पादनहरु, हस्तकलाका उत्पादन, गार्मेन्टका उत्पादन, फुटवेयर, अटोमोवाइल्स, निर्माण सामग्री, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामग्री, जडीबुटी तथा औषधीजन्य वस्तुहरु, विभिन्न सांस्कृतिक एवम् मौलिकता झल्किने वस्तुहरुको प्रदर्शनी रहने महोत्सवका सहसंयोजक तथा संघका पूर्वअध्यक्ष प्रितम खड्गीले बताए । साथै, दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति र बाल उद्यान तथा मनोरञ्जनात्मक खेल तमासाहरु रहने उनले जानकारी दिए ।
महोत्सवमा १ करोड ४० लाख आम्दानी र १ करोड २५ लाख खर्च हुने आयोजक समितिले अनुमान गरेको छ । महोत्सवलाई सभ्य र भव्य बनाउन ३२ स्थानमा सिसि क्यामेराको व्यवस्था, डिजिटल पेमेन्टको व्यवस्था गरिने जनाइएको छ । संघका अध्यक्ष शेरबहादुर भण्डारीले महोत्सवको तयारी तीब्र रुपमा भइरहेको जनाउँदै ७० प्रतिशत स्टल बुकिङ भइसकेको बताए । महोत्सवले उर्लाबारीको व्यापारलाई चलायमान बनाउने अपेक्षा गरिएको उनले बताए । उर्लाबारी–४ नगरपालिका कार्यालय पूर्वपट्टि सञ्चालन हुने महोत्सव स्थलको घेराबारा र गेट निर्माण सुरु भएको संघका महासचिव हेमराज गुरुङले जानकारी दिए । महोत्सवमा उर्लाबारी नगरपालिका संरक्षक, छिमेकी नगरपालिका तथा गाउँपालिका, प्रदेशका विभिन्न मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, सञ्चार क्लब उर्लाबारीसँग समन्वय गरिएको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय