About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, २५ पुस
वि.सं. २०२१ साल असोज ११ गतेका दिन झापा जिल्लाको गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्व. बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रुपमा हिक्मतकुमार कार्कीको जन्म भएको हो । अहिले उनको परिवारमा आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको बाल्यकाल गौरादह मै बितेको र एसएलसीसम्मको अध्ययन स्थानीय जनता माविमा भएको थियो ।
२०३६ सालको विध्यार्थी आन्दोलनमा सहभागीताः
विद्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी पार्टी सम्पर्कमा भने २०३६ सालतिर मात्रै आएका हुन् । महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आई एल अध्ययन गर्ने उद्देश्य राखी २०४२ सालमा धरान पुगेका कार्की आईएलको पहिलो ब्याजका रुपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति नेपाल ल कलेज, प्रदर्शनी मार्गमा भर्ना भए । उनले कानुनमा स्नातकोत्तर तह (एलएलएम) को अध्ययन पूरा गरेका छन् ।
अनेरास्ववियुको विभिन्न तहका कमिटीको नेतृत्वदायी भूमिका (क्याम्पस प्राक, जिल्ला कमिटी काठमाडौं, बाग्मती अञ्चल कमिटी) निर्वाह गर्दै उनी २०५५ सालमा केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहे । स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति– नेपाल ल क्याम्पस) सम्हालेका कार्की विद्यार्थी विषेश जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गरेका थिए । पार्टीको ५ औं राष्ट्रिय महाधिवेशनदेखि स्वयंसेवकको केन्द्रीय कमाण्डमा प्रदीप नेपाल, विष्णु रिमाल, विनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डेसँगै महत्वपूर्ण भूमिकामा रहँदै पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रिय राजनीतिमा रहेका छन् ।
नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि २०७१–२०७३ साल सम्म मेची अञ्चल समन्वय कमिटीको ईञ्चार्जका रुपमा जिम्मेवारी बहन गरिसकेका कार्की संविधान अनुकूल संघीयता कार्यान्वयन गर्ने गरी पार्टीको प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटी, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्री परिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा २०७४ फाल्गुन ३ गते जिम्मेवारी प्राप्त गरेका थिए । करिव ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा सफल कार्यकाल सम्पन्न गरी २०७८ साल भाद्र १० गते सरकारबाट बाहिरिएका कार्कीले ५७ वटा प्रदेश कानुन, दुई दर्जनभन्दा बढी नियमावली, कार्यविधि तर्जुमा गरी कानुन निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन् ।
प्रदेशको शान्ति सुरक्षाका सम्बन्धमा प्रदेश प्रहरीहरुको क्षमता अभिबृद्धि, सस्थागत सबलिकरण, आधुनिकीकरण र पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान गरेका छन् । सिमा सुरक्षा मजबुत नबनेसम्म आन्तरिक सुरक्षा ब्यवस्थापन फितलो हुने कुरालाई महसुस गर्दै केन्द्रिय सरकार मातहतको सशस्त्र प्रहरी बललाई समेत सबल र सक्षम बनाउँदै लैजानु पर्छ भनेर सीमा सुरक्षाका निम्ति विओपी निर्माण र थप गर्ने कार्यको समेत अगुवाई गरेका थिए । सञ्चार क्षेत्रको समेत जिम्मेवारीलाई बोध गर्दै प्रादेशिक सञ्चार प्रतिष्ठान स्थापना गरी समग्र सञ्चार क्षेत्रको विकासमा समेत उनको योगदान रहेको थियो ।
देशका दुई ठूला कम्युनिष्ट पार्टीको एकताद्वारा निर्माण भएको नेकपाको केन्द्रिय कमिटी सदस्य रहेका कार्की एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्यका रुपमा निर्वाचित भएका थिए । उनी अहिले नेकपा (एमाले) को स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–ईञ्चार्जका भूमिकामा छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय