About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ पुस
मोरङको उर्लाबारी–९ भोटेपुलमा धानको कुन्युमा आगलागी हुँदा दुई विघा १० कठ्ठामा लगाइएको धान जलेर नष्ट भएको छ । शानिबार रातिदेखि लागेको आगो निभाउन आइतबार दिउँसोसम्म लागेको थियो । आगो निभाउन उर्लाबारी नगरपालिका र पथरी शनिश्चरे नगरपालिकाका दमकल, सशस्त्र, जनपथ प्रहरी र स्थानीय खटेका थिए । स्थानीय राजकुमार सुब्बाको उक्त खेतमा पुष्पाञ्जली रम्तेलले अधियाँ कमाएकी थिइन् । आगलागीबाट अन्दाजी २ सय मन धान र पराल जलेर नष्ट भएको छ ।
सो क्षेत्रमा एक महिनाको अवधिमा पाँच वटा कुन्यूमा आगलागी भएको वडाध्यक्ष नरबहादुर मोक्तानले बताए । तीन वटा धानको कुन्यू र दुई वटा परालको कुन्यूमा आगलागी भएको बताउँदै उनले आगलागीको प्रकृति हेर्दा कसैले लगाइदिएको हुनसक्ने जनाए । ‘एउटै एरियामा लगातार धानको कुन्यूमा आगलागी भइरहेको छ’ उनले भने, ‘कसैले लगाइदिएको हुनसक्छ, प्रहरीलाई निगरानी बढाउन आग्रह गरेको छु ।’
आफूले अधियाँ गरेर कमाएको धान आगलागीबाट नष्ट भएपछि पुष्पाञ्जली रम्तेल पीडा पोख्छिन्, ‘वर्षभरि खानका लागि दुःख गरेर कमाएको एकै छिनमा नष्ट भयो ।’ उनले राहतका लागि उर्लाबारी नगरपालिकासँग अपेक्षा राखेको बताएकी छिन् । एकपछि अर्को कुन्यूमा बारम्बार आगलागी हुन थालेपछि सो क्षेत्रका कृषक चिन्तित बनेका छन् । कसले, किन आगो लगाइरहेको छ, खोजविन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने उनीहरुको माग रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय