About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नवराज भट्टराई
उर्लाबारी, १४ पुस
मोरङको उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी लागुऔषधरहित समाज, सुरक्षित, समृद्ध वडा निर्माणमा लागेका छन् । यसका लागि उनले चालु आर्थिक वर्षमा लागुऔषध नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम, सडक दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम बनाएर कार्यान्वयनमा अघि बढेका छन् ।
किशोरावस्थादेखि नै लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको अवस्थामा उनीहरुलाई असल मार्गमा लाग्न प्रेरित गर्दै लागुऔषधरहित वडा बनाउने अभियान सुरु गरेको वडाध्यक्ष बुढाथोकीले बताए । यो अभियान प्रभावकारी भएको खण्डमा युवालाई रोजगारमुखी बनाउन थप योजना र बजेटको विशेष व्यवस्था गर्ने उनको योजना छ ।
बुढाथोकी २०७४ देखि निरन्तर जनप्रतिनिधि छन् । २०७४ को निर्वाचनबाट वडा सदस्य रहेका उनले पाँच वर्षमा धेरै अनुभव मात्र बटुलेनन् जनताको मन पनि जिते । फलस्वरुप गत स्थानीय तह निर्वाचनमा अत्यधिक मतका साथ वडाध्यक्षमा विजयी भए । पूर्वाधार विकासले मात्र समृद्ध वडा बन्न सक्दैन भन्ने बुझेका उनले किशोरकिशोरी तथा युवाहरुलाई कुलतबाट बचाउन र अन्य जनचेतनामूलक कार्य गर्न सक्रियता जनाएका छन् ।


यसैक्रममा, विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर लागुऔषध, साइबर क्राइम तथा सडक दुर्घटना न्यूनीकरण तथा रोकथाम सम्बन्धी चार दिने कार्यक्रम बुधबारबाट सुरु भएको छ । ३ नम्बर वडा कार्यालयको आयोजनामा सुरु कार्यक्रममा दुई दिन सामुदायिक र दुई दिन संस्थागत विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सहभागी गराइने अध्यक्ष बुढाथोकीले बताए । बुधबार अभियानको समुदघाटन कार्यक्रमकी प्रमुख अतिथि उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेलले किशोरावस्था अर्काको लहैलहैमा लागेर कुलतमा फस्ने उमेर भएकोले सजग हुन विद्यार्थीहरुलाई आग्रह गरिन् । एक दिन र एक छिनको गल्तीले जिन्दगीभर पछुताउनु पर्ने बताउँदै उपमेयर पौडेलले यो बेला अध्ययनमा ध्यान दिनुपर्ने सुझाव दिइन् ।
जिल्ला समन्वय समितिका सदस्य तथा उर्लाबारी ३ का वडा सदस्य मित्रप्रसाद ढकालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै लागुऔषधमुक्त वडा बनाउने आफूहरुको अभियान रहेको बताए । चार दिनसम्म सञ्चालन हुने जनचेतनामूलक कार्यक्रममा बुधबार र बिहिबार दुर्गा मावि र सुनपकुवा मावि तथा शुक्रबार र शनिबार सनसाइन, विद्याज्योति, हिमालय बालसंसार र शुभकामना बोर्डिङका विद्यार्थीहरु सहभागी रहने भएका छन् ।
उनीहरुलाई लागु औषध प्रयोगकर्ताको अवस्था र कानुनी व्यवस्थाको बारेमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा, लागुऔषधले स्वास्थ्यमा पार्ने असरका बारेमा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका डाक्टर, लागुऔषध प्रयोगकर्ताले भोग्नुपर्ने समस्याका बारेमा जीवन बचाउ उपचार सेवा गृह उर्लाबारीका काउन्सिलर शिशिर भट्टराई, ट्राफिक नियमका बारेमा ट्राफिक प्रहरी पोष्ट उर्लाबारीका प्रमुख निलमणि पोखरेल र सुरक्षित सामाजिक सञ्जाल प्रयोगका विषयमा उर्लाबारी नगरपालिकाका सूचना प्रविधि अधिकृत रोषन ठाकुरले जानकारी गराउने कार्यक्रम रहेको वडाध्यक्ष बुढाथोकीले बताए ।


वडाध्यक्ष बुढाथोकीको युवा जोश जाँगर यतिमै सीमित छैन । केही दिनअघि उनी नेतृत्वको टोलीले वडाका सबै विद्यालयको अनुगमन ग¥यो । अनुगमनका क्रममा भेटिएका कमजोरी सुधार गर्न निर्देशन दिएको उनले बताए । सामुदायिक विद्यालयमा सरसफाईमा कमजोरी भेटिएको र संस्थागत विद्यालयका क्यान्टिनमा जंक फुड बेच्ने गरेको पाइएकोले सुधार गर्न निर्देशन दिएको वडाध्यक्ष बुढाथोकीले बताए । विद्यालयका क्यान्टिनमा जंक फुड बिक्रीमा प्रतिबन्ध लगाइने उनले जानकारी दिए ।
वडाध्यक्ष बुढाथोकीले थालेको यो अभियानले समृद्ध वडा निर्माणमा सहयोग पुग्ने स्थानीय ज्येष्ठ नागरिक कृष्णप्रसाद पौडेलले बताए । सभ्य, शान्त वडा बनाउन सबैले साथ र सहयोग गर्नुपर्ने उनको भनाई छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय