About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १२ पुस
संघमा नयाँ सरकार बनेपछि अब सबैको ध्यान नयाँ बन्ने प्रदेश सरकारतर्फ गएको छ । केन्द्रमा आएको राजनीतिक परिवर्तनको अवसर प्रदेश स्वभाविकै पर्ने नै भयो । यसैले प्रदेश १ मा सरकार नेतृत्वका लागि नेकपा एमाले प्रमुख दाबेदार बनेको छ । नेकपा माओवादी केन्द्रले पनि दाबी गर्दै आएको छ ।
केन्द्रमा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने भूमिका खेलेका एमाले अध्यक्ष केपी ओलीले प्रदेश १ मा भने एमाले नेतृत्वकै सरकार बनाउन पहल गर्ने आंकलन गरिएको छ । ओलीकै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित एमालेका नेता हिक्मत कार्की सर्वसम्मत् संसदीय दलको नेता बनेका छन् । प्रदेशमा माओवादीको भन्दा तीन गुना बढि सांसद संख्या रहेका कारण पनि यहाँ एमालेले नेतृत्व गर्ने सम्भावना अधिक छ । यसो भएमा ओलीका विश्वासपात्र उनै कार्की प्रदेश १ को मुख्यमन्त्री बन्ने छन् । कार्की अघिल्लो कार्यकालमा तीन वर्ष आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए ।
यहाँ मुख्यमन्त्रीका लागि माओवादी केन्द्रले पनि दाबी गर्दै आएको छ । सो पार्टीबाट अहिलेका आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बो संसदीय दलको नेता चयन भएका छन् । पाँच वर्षसम्म मन्त्री भएका उनले मुख्यमन्त्री बन्ने तर पुनः मन्त्री भने नबन्ने बताइसकेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा ४० सदस्यसहित नेकपा एमाले पहिलो दल हो भने १३ सदस्यसहित माओवादी केन्द्र तेस्रो दल हो । नेपाली कांग्रेस सहितको गठबन्धनमा हुँदा पनि नेतृत्वका लागि माओवादीले दाबी गरेको थियो । अहिले एमालेसँग गठबन्धन भएपछि पनि माओवादी केन्द्रले प्रदेश १ सरकारको नेतृत्व दाबी गरेको हो ।
तर, नेकपा एमालेबाट सर्वसम्मत् संसदीय दलको नेता बनेका कार्की आफू मुख्यमन्त्री बन्नेमा ढुक्क छन् । निर्वाचनमा सहकार्य गरेको एमाले, राप्रपा र जसपाको बहुमत रहेको बताउँदै उनले नयाँ समीकरणले गठबन्धनमा ६० मत पुगेको बताए ।
माओवादीका नेता आङ्बो सबैभन्दा ठूलो दलको रुपमा रहेको एमालेको दाबीलाई स्वभाविक रुपमा लिएको बताउँछन् । केन्द्रको निर्णय मुख्य कुरा भएको बताउँदै उनले केन्द्रबाट हुने निर्णयलाई सबैले स्वीकार्ने र माथिबाट बाँडफाँट भएपछि कसैले नछोड्ने भनेर नहुने बताउँछन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । प्रदेश १ मा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय