
उर्लाबारी, १ पुस
उर्लाबारी नगरपालिकाले जनताका समस्यासँग हातेमालो गर्ने र तत्काल समाधान हुने समस्या हल गर्ने हेतुले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । शुक्रबार वडा नम्बर २ का स्थानीयवासीसँग उर्लाबारी नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित नगरसभा सदस्यहरुले समस्याको पहिचान र समाधानको लागि छलफल थालेका छन् ।
कार्यक्रममा स्थानीयले सडकको स्तरोन्नति, ढल, खानेपानी, सिंचाइ, हात्ती नियन्त्रण र कृषिका कार्यक्रममा प्रभावकारी काम हुन नसकेको भन्दै गुनासो व्यक्त गरेका थिए । नगरपालिकाबाट प्रदत्त विकास निर्माणका कामहरुका विषयमा पनि स्थानीयका गुनासैगुनासा थिए । उनीहरुले सम्पन्न भएका र निर्माणाधिन योजनाहरुलाई प्रभावकारी रुपमा अनुगमन गर्न आग्रह गरेका थिए । साथै छुटेका योजनाहरुलाई बजेटमा समेट्नपनि आग्रह गरेका थिए ।
कार्यक्रममा जनगुनासो सुनेपछि नगरप्रमुख गंगाप्रसाद खरेलले धेरै बोलेर भन्दापनि काम गरेर देखाउने भन्दै जनगुनासो सुन्ने गरेको बताए । उनले समस्याको अवस्था हेरी तत्काल समाधान हुने खालका समस्यालाई हल गर्ने र समय लाग्ने खालका समस्याको आगामी नीति कार्यक्रम र बजेटमा लगिने उल्लेख गर ।
नगर उपप्रमुख मीना खतिवडा पौडेलले सर्वसाधारण जनता र जनप्रतिनिधिबीचमा सम्बन्ध विकास गर्नका लागि उर्लाबारी नगरपालिकाले यो अभियान अगाडि बढाएको बताइन् । सामाजिक विकृति र विसंगतिको नियन्त्रण गरी सुरक्षित र सभ्य समाजको निर्माणमा लागिपरेको जनाउँदै उपप्रमुख पौडेलले भनिन् ‘स्थानीय तहको भूमिकाका सम्बन्धमा बोध गराउन समेत कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा लिएका छौँ ।’
कार्यक्रमको सभापतित्व गरेका वडा नं. २ का वडाध्यक्ष राजन कँडेलले विशेषगरी कृषि, पर्यटन, पशुपालन, शिक्षा र स्वास्थ्यका सवालमा बढी जोड दिएको जानकारी दिए । सोही अवसरमा सो वडा हात्ती प्रभावित क्षेत्र समेत भएकाले नगरपालिकाले हात्ती धपाउने ५ थान साईरन वडा कार्यालयलाई उपलब्ध गराएको छ ।