
उर्लाबारी, २४ मंसिर
उर्लाबारीकै पुरानो शैक्षिक संस्था सुनपकुवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा ६६ औं वार्षिकोत्सव कार्यक्रम सुरू भएको छ । उर्लाबारी–२ मा रहेको सो विद्यालयको स्वर्ण महोत्सवको आज एक कार्यक्रमका बीच प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले उद्घाटन गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख खापुङले शिक्षा समग्र विकासको पहिलो शर्त भएको बताउँदै समय अनुकूल सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न र सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावको आकर्षण बढाउन आवश्यक रहेको बताए । समयको माग अनुसार प्रविधिमैत्री शिक्षा अहिलेको आवश्यकता रहेको उनले बताए ।
मोरङ क्षेत्र नं. १ (१) का प्रदेश सांसद उमाकान्त गौतमले शैक्षिक विकासमा राज्यका निकायसँगै व्यवस्थापन समिति, शिक्षक, अभिभावक सबैको भूमिका रहने बताए । यस्तै, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले उर्लाबारीमा शैक्षिक विकासका लागि योजनाबद्ध रुपमा लाग्ने बताए । नगरका अधिकांश विद्यालयको अनुगमन गरेको बताउँदै उनले धेरै सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कँदो रहेकोले यसलाई सुधार गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । कार्यक्रमका विद्यालयले प्रकाशन गरेको स्मारिका समेत विमोचन गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक भूमिराज प्याकुरेलले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । सुनपकुवा माविमा हाल विशेष कक्षा, बालमैत्री पूर्व विद्यालय बाल कक्षा, कक्षा १ देखि १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा कक्षा सञ्चालन हुँदै आएको प्रअ प्याकुरेलले बताए । १३ सय ११ विद्यार्थी अध्ययनरत सो विद्यालयमा स्थायी, अस्थायी, निजी स्रोतका गरी ५१ जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ । प्रअ प्याकुरेलले विद्यालयको आर्थिक अवस्था, उपलब्धी, भावी कार्यक्रम तथा रणनीतिहरु, समस्या र चुनौतीहरु सम्भावना र अपेक्षाका विषय प्रस्तुत गरेका थिए ।
आजको कार्यक्रममा विद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्न सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । तीन दिनसम्म सञ्चालन हुने स्वर्ण महोत्सव कार्यक्रममा विद्यालयको हर क्षेत्रमा सहयोग पु¥याउने पाँच सय जनालाई सम्मान गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक प्याकुरेलले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख मिना खतिवडा पौडेल, राधिका माविका प्रधानाध्यापक कुमार पोख्रेल, वडा नं. २ का वडाध्यक्ष राजन कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।