About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सनम रोक्का, कानेपोखरी
पर्यटक आकर्षित गर्ने उद्देश्यले मोरङको कानेपोखरी गाउँपालिका–७ मा ट्री हाउस (रूख घर) निर्माण गरिएको छ । पूर्व पश्चिम लोकमार्गको कानेपोखरी चौकदेखि दक्षिण ग्रामीण सुधार सामुदायिक वन क्षेत्रभित्र राई जातिहरूको धार्मिक स्थल साकेला थान परिसरमा ट्री हाउस बनाइएको हो ।
त्यस क्षेत्रभित्रका रूखहरूलाई सहायता बनाई निर्माण गरिएको हाउस निकै आकर्षक र मनमोहक तवर बनाइएको छ । कानेपोखरी–५ जहदा निवासी रामकाजी राईले करिब १५ लाख रुपैयाँ लगानी गरेर बनाएको ट्री हाउस कानेपोखरी गाउँपालिकाकै एक नमूना पर्यटकीय स्थल बन्ने विश्वास गरिएको छ ।
१३ वर्ष ब्रिटिस सेनाको रुपमा काम गरेका उनले बेलायत बस्दा नेपाल र बेलायत बीचको मानवीय बौद्धिक क्षमता, धर्मप्रतिको सचेतता र पर्यटकीय अवस्थाको बारेमा तुलना गरे । सो अनुरूप नेपाल आएर कुनै पर्यटकीय आकर्षणको क्षेत्र निर्माण गर्ने सोच गरेको र फलस्वरूप यो ट्री हाउस बनाएको बताए ।
राईका अनुसार ट्री हाउस पूर्ण रूपले निर्माण सकिन केही प्रतिशत मात्र काम बाँकी रहेको र अब केही दिन भित्रमै सर्वसाधारणका लागि खुला गरिने छ । दुई तला र दुवैमा बस्न मिल्ने गरी बनेको घरमा सामान्य जन्मदिनको कार्यक्रम, सभा, बैठक लगायतको कार्य गर्न सकिने र यस घरबाट प्राकृतिक सुन्दरतालाई पनि नियाल्न सकिने उनले बताए । उनले भने, ‘यो सबै धर्म, संस्कृति मान्ने व्यक्तिको साझा सम्पत्ति हो । यहाँ जुनसुकै धर्म, जाति, परम्परा भएका मानिसले आफ्नो धार्मिक कार्यक्रम लगायत धार्मिक स्थल निर्माण गर्न पाउने छन् । हामीबीच कुनै फरकता छैन, सबै मिलेर सहिष्णुताका साथ यस क्षेत्रलाई मानवीय मेलमिलापको संगम बनाउने इच्छा छ ।’
उनले सो स्थानलाई पर्यटकीय आकर्षण केन्द्रको रूपमा विकास गर्ने प्रयासलाई गाउँपालिकाले कुनै प्रकारको सहयोग नगरेको गुनासो गरे । बारम्बार प्रस्ताव राख्दा समेत सहयोग नभएको बताउँदै यदि पालिकाले सहयोग गरे अझै विस्तारित गर्न सकिने उनको भनाई छ । वि.स २०५२ सालमा ३ बिघा जमिन किराँत धार्मिक वन साकेला थानको नाममा पास गरी किराँतहरूले सो ठाउँमा आफ्नो धार्मिक कार्य गर्दै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय