
उर्लाबारी, १७ मंसिर
‘समावेशी विकासका लागि रुपान्तरणकारी समाधान पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने मुल नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस उर्लाबारीमा मनाइएको छ । शनिबार उर्लाबारी नगरपालिका परिसरमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई जाडोका लागि सिरक र पोषण सामग्री वितरण गरिएको छ ।
उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, उपमेयर मीना खतिवडा पौडेल र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुलाई सामग्रीहरु प्रदान गरे । अपाङ्गता भएका १८ जनालाई फाइबरको सिरक र १८ जना अपाङ्गता भएका बालबालिकालाई अण्डा, ओड्स, घिऊलगायतका पोषण सामग्री उपलब्ध गराइएको थियो ।
कार्यक्रममा बोल्दै मेयर खरेलले शारीरिक रुपले अपाङ्ग भएकै कारण कसैको अवहेलना गर्न नहुने बताए । शारीरिक रुपमा अपाङ्गता भएपनि सबैसँग केहि न केहि गुण हुने भएको उल्लेख गर्दै कुनै बिषयको राम्रो अध्यन गरेर आ–आफ्नो क्षेत्रमा विशिष्टता हाँसिल गर्न सक्ने खरेलले बताए । हरेक बर्ष मनाइदै आएको अन्तर्राष्ट्रिय अपाङ्ग दिवसले अपाङ्गता भएका ब्यक्तिहरुलाई थप जोस, जाँगर र हौसला प्रदान गर्ने अपेक्षा उनले व्यक्त गरे ।
यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले संविधानले दिएको एकल अधिकारको सूचीमा अपाङ्गता भएका व्यक्तिहरुको सेवा सुविधा लगायतका ब्यवस्था गर्ने जिम्मेवारी स्थानीय तहको भएको हुँदा स्थानीय तहलाई दक्ष जनशक्ति सहित साधनस्रोत सम्पन्न बनाउनु आजको आवश्यकता भएको धारणा राखे ।
स्थानीयस्तरमा अपाङ्गता भएका व्यक्तिको अधिकार प्रबद्र्धनका लागि क्रमिक रुपमा विभिन्न काम भइरहेको उनले बताए । अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दापनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै उनीहरुलाई विकासको मूल प्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउदै लैजानु पर्नेमा अधिकारीले जोड दिए । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका सवालहरुलाई विश्वव्यापी रुपमा उजागर गर्न सन् १९९२ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा संसारभरि हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउने गरिन्छ ।



